कञ्चनपुर । कञ्चनपुरका थारु समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्रीकृष्णजन्माष्टमी) पर्व मनाइरहेका छन् । सो समुदायले पृथक शैलीले अष्टम्की पर्व मनाउने गरेका छन् । थारु समुदायका घरमा भगवान श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ । सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ ।
थारु समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातीको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको वडघर रामप्रसाद चौधरीले बताए । महिला पुरुष दुवै जनाले अष्टम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् । विशेष गरी व्रतालु महिलालाई चित्र बनाउनमा बेफुर्सदिला बनेका छन् । “ब्रम्ह मूहर्तमा दर खाएपछि घरमा रहेको बर्ही (बैठक) कोठमा व्रतालु थारु महिलाले आफ्नै हातले कान्हा अर्थात भगवान श्रीकृष्णको चित्रसहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्” उनले भने, “महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्दछन् ।”
चित्र बनाउदा पश्चिम तर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गगटा, सर्प, कुकुर, रुखमा सबेका बाँदर गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उट, कुखुरा, मयुर, विच्छी, वासुकि नागलगायतका जलचर र थलचर प्रणीहरुका चित्र बनाइने गरिन्छ । चित्र बनाउनेबीच भागमा दुलही अनमाउदा दुलहीलाई लैजाने डोले सहितको डोलीकोसमेत चित्रका माध्यमले देखाउने गरिन्छ ।