शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरको तयारी पूरा

16.7k Shares
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी पूरा भएको जनाएको छ ।
पशुपति दर्शनका लागि कोषले मास्क अनिवार्य गरेको छ । मास्क नलगाउने भक्तजनलाई मन्दिर प्रवेशमा निषेध गरेको छ । महाशिवरात्रि आयोजना सम्मेलनको जानकारी दिन मंगलबार पशुपति विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव डा. प्रदीप ढकालले कोभिड महामारीको जोखिम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह गरे । यसपटकको महाशिवरात्रि फागुन २७ गते परेको छ ।
कोभिड महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरेको उनले बताए । ढकालले भने, दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजर र मास्क अनिवार्य लगाउनुपर्नेछ ।
शिवरात्रिमा सातदेखि आठ लाखको हाराहारीमा दर्शनार्थी आउने कोषको अनुमान छ । कोरोना महामारीका कारण सीमानाकामा कडाइ भएकोले देशबाहिरबाट आउनेको सङ्ख्या कम हुँदा उक्त सङ्ख्यामा मात्रै दर्शनार्थी हुने अनुमान सदस्य सचिव डा. ढकालले गरे।
दर्शनका लागि भने पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ । सुरक्षाका लागि १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने कोषको तयारी छ ।
नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए । नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने डा. ढकालले जानकारीले दिए । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् । आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था कोषले गरेको छ ।
भारतबाट करिब ३ हजारको हाराहारीमा बाबाहरू आइसकेको उनले प्रस्ट पारे । बाबाहरूलाई मन्दिर परिसरका विभिन्न आश्रममा व्यवस्थापन गरिसकेको उनको भनाइ छ । बाहिरबाट आएका बाबालाई विकास महाशिवरात्रि भरि खाने बस्नेको राम्रो प्रबन्ध मिलाइने थप उनले जानकारी दिए ।
मुल मन्दिरमा आजदेखि निर्वस्त्र बाबाहरू प्रवेश गरिसकेको ढकालले बताए । निर्वस्त्र बस्ने बाबाहरूको विरोध भए पनि परापूर्व कालदेखि चलिआएको चलनले यसलाई निरन्तरता दिएको उनी सुनाउँछन् ।
पैसा तिरेर पूजा गरिने व्यवस्था कोषले बन्द गरेको छ । पूजा गर्न भित्र जाने पासको व्यवस्था पनि छैन ।
सम्बन्धित समाचार