महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।
सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास ९मलमास० पर्नाले पछि धकेलिएर करिब मध्य भदौताका परेको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ । आज सखारै एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ ९विभिन्न रङका धागोका डोरा० जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा मिथिलानी ९मिथिलाका नारी० को भिड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन् ।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । ससाना नानीहरुका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्दछन् ।
मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ(दिदीबहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जीरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषि र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्रमुख दिलिप तिवारी बताउछन्। सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ ।
मिथिलामा साउन शुक्लपक्ष सुुरु भएसँगै मिथिलामा यो पर्वको तयारी देखिने गरेको छ । पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा चेलीलाई दिने गर्छन् ।