काठमाडौं । यतिबेला नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाबीच सम्बन्ध प्रगाढ छ । उनीहरु नियमित सम्पर्कमा रहेर नेकपाको कानुनी विभाजन रोक्न सक्रिय छन् । गौतम र थपलिया दुवैको लाइन मिलेकाले उनीहरु नियमित सम्पर्कमा बसेका हुन् । गौतम नेकपाको विभाजित दुवै समूहसँग नियमित जसो भेटघाटमा व्यस्त छन् । उनले एकताको सूत्र तयार गर्दै प्रस्ताव लगिरहेका छन् । तर, दुवै पक्ष टसमस भएको छैन ।
थपलिया कर्मचारी भएपनि एमाले कार्यकर्ताका रुपमा चिनिन्थे । विगतमा तत्कालिन नेकपा एमाले नजिक थिए । उनी नेकपा नेतृत्वको सरकार हुँदा नै प्रमुख निर्वाचन आयुक्त बने । अहिले नेकपा विभाजन भएपछि कानुनी विभाजन रोक्न थपलिया सक्रिय भएका हुन् । नेकपा एक नै बनाइराख्न उपाध्यक्ष बामदेव गौतम लागिरहेका छन् । उनलाई केही सांसदहरुको पनि साथ छ । गौतमले नेकपाको ओली र प्रचण्ड दुवै पक्षधरसँग छलफल गर्दै आएका छन् । गत हप्ता उनले केपी शर्मा ओलीलाई बालुवाटारमा र प्रचण्डलाई खुमलटारमा भेटेका थिए । भेटमा एकताको सुत्रबारे छलफल चलाए ।
यतिबेला ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध नेकपा दर्ता हुँदै अर्को नेकपा दर्ता अनुमती दिएकाले दायर गरेको रिट निवेदन फैसलाको पर्खाइमा छ । यसबारे आजभोलि नै फैसला आउनेछ । फैसला आउनुपूर्व निर्वाचन आयोग नेकपाको आधिकारितासम्बन्धी निर्णय दिने पक्षमा छैन । तर, आयोगलाई चौतर्फी दबाब बढ्दै गएको छ । विश्वस्त स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलिया अदालतको फैसला पछि मात्र निर्णयमा जाने पक्षमा छन् । उनी दोषको भारी आफ्नो टाउकोमा हाल्न चाहिरहेका छैनन् । नेकपा विभाजनको हस्ताक्षर गर्न नपरोस् भन्ने पक्षमा छन् । नेकपाबारे निर्णय आउन अझै समय लाग्ने थपलियाले निकटस्थसँग बताएका छन् । उनले सकभर नेकपाका नेताहरुलाई मिलाउन आग्रह समेत गर्दै आएका छन् ।
यसैगरी, निर्वाचन आयोगमा संवैधानिक इजलास गठन गर्ने र आवश्यक परेमा एमिकस क्युरी समेत राखेर निर्णय लिने प्रक्रिया मिलाएको छ । सबै प्रक्रिया अपनाउँदा वैशाखसम्म पनि निर्णय आउन लाग्न सक्ने आयोग स्रोतले भन्यो । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि ५ पौषमा नेकपा विभाजित भएको थियो । तर, वैधानिक रुपमा दुवै नेकपा एक छन् । दुवै समूहले आधिकारिकताको दाबी गर्दै आएका छन् ।