निमोनियाबाट बच्न स्वस्थकर जीवनशैली अप्नाउनु पर्छ

19.6k Shares

निमोनिया रोगबाट पछिल्लो समय नेपालमा मृत्युदर बढिरहेको छ । मृत्युदर बढ्नुको कारण वाह्य तथा भित्री प्रदुषणका कारण पनि निमोनिया रोगीहरु बढ्ने गरेका छन् । बढ्दो निमोनिया रोग न्यूनिकरणका लागि अप्नाउनुपर्ने दैनिक जीवनशैलीदेखि लिएर खानपिन, समयमा लगाउनुपर्ने भ्याक्सिनलगायतका विषयमा तिनवर्ष देखिसुमेरु सिटी अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत डा. सुजन  श्रेष्ठसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी : 

० निमोनिया रोग कस्तो खाले रोग हो ? 
निमोनिया रोग सामान्य हिसावले भन्ने हो भने फोक्सो संक्रमण हो । यो जिवाणु जसलाई हामी ब्याक्टेरिया अर्थात् विषाणु भाइरस पनि भन्छौं । अन्य किटाणुहरुले पनि हुन्छ । यसमा हामीहरुले फोक्सोभित्र हुने स—साना हावाका थैलीहरु हुन्छन्, जसमा सामान्य हिसावमा हावा हुनुपर्नेमा त्यसमा केही मात्रामा तरल पदार्थहरु विभिन्न किसिमका इन्फ्लामेटिसेल्स भन्छौं, विभिन्न किसिमका खराव कोसिकाहरु गएर जम्मा हुने गर्छ जसमा पछि गएर पिप जम्ने गर्छ जसले गर्दा शरीरमा अक्सिजन दिने कार्यमा बाधा पुग्न जान्छ । यस्तै समस्याहरु फोक्सोमा देखिने भनेकै निमोनिया हो । 
० निमोनियाबाट बच्ने उपायहरु के होलान् ? 
निमोनियाबाट बच्ने उपाय भनेको धेरै उपायहरु छन्, सुरुमा निमोनियाबाट बच्ने उपाय भनेको स्वस्थकर जिवनशैली अप्नाउनु हो । त्यसमा धुम्रपान नगर्ने यदि गरेको छ भने पनि त्यसलाई छाड्ने, माधक पदार्थ अर्थात् रक्सीहरु पनि सेवन नगर्ने, आफ्नो दैनिक पर्सनल हाइजिङ भन्छौं अर्थात् व्यक्तिगत स्वच्छता त्यसमा ध्यान दिने, हात सावुन पानीले मज्जाले धुने, स्यानिटाइजरहरु प्रयोग गर्नुका साथै त्यसको अलवा दैनिक व्यायाम गर्ने, पोषिलो खानेकुराहरु खाने, समयमा सुत्ने, निन्द्रा पु¥याउने, यो सामान्य कुरा भयो । यसको अलावा पनि प्रदुषणबाट बच्ने, बाह्य तथा घरभित्र वायु प्रदुषणबाट बच्ने, धुलो धुँवाबाट बच्ने । यसको अलवा निमोनिया नै भइसकेको विरामी अर्थात् रुघाखोकी भएको विरामीको नजिक सकेसम्म नपर्ने, पर्दाखेरी सकेसम्म प्रोटेक्सन लिएर माक्सहरु लगाएर बस्ने । अर्को कुरा निमोनियाबाट बच्ने उपाय भनेको भ्याक्सिन हुन्छ, भ्याक्सिन पनि दुई किसिमका हुन्छन् एउटा चाहिँ फ्लु भ्याक्सिन भन्छौं जुन छ महिनाभन्दा माथिका बालबालिकाहरु सबैले वर्षको एक पटक लगाउनुपर्ने हुन्छ । त्यो वर्षमा एकपटक जाडो मौशम सुरु हुनुभन्दा अगाडि सरद ऋतुमा लगाउने । अर्को भनेको चाहिँ हाम्रो निमोनियाको भ्याक्सिन भन्छन् त्यो चाहिँ सबैले लगाउनुपर्छ भन्ने छैन जुन लक्षित वर्ग छ त्यसले मात्र लगाए हुन्छ । 
० निमोनिया कस्तो उमेर समूहमा देखिने गर्छ ? 
निमोनिया विशेष गरी दुईटा उमेर समूह जसलाई हामीले एक्सक्युमा फेज भन्छौं जुन बालबालिका र बृद्धहरुमा लाग्ने गर्छ । बालबालिकामा लाग्ने कारण भनेको चाहिँ बालबालिकामा रोग प्रतिरोधात्मक शक्ति अर्थात् युम्युनिटी पावर भन्छौं त्यो पूर्णरुपमा विकसित भइसकेको हुँदैन भने वृद्धहरुमा विशेष गरी ६५ वर्ष भन्दा माथिका उमेर भएकाहरुमा पनि युम्युनिटी पावर कम्जोर हुन्छ त्यसकारणले पनि निमोनिया हुन्छ । अरु पनि कारण हुन्छ जस्तो बृद्धहरुमा दिर्घरोगी हुने बढी सम्भावना हुन्छ जसले गर्दा पनि निमोनिया बढी हुने गर्छ । वृद्धहरुमा अलिकति सचेतना अर्थात् सुस्तपन हुने, झोक्र्याउने प्रवृत्तिका कारणले र खाना खाँदा सर्किने कारणले पनि निमोनिया हुने सम्भावना बढी हुन्छ । 
० महामारीका रुपमा रहेको कोरोना भाइरसबाट संक्रमित विरामीहरु विशेष गरी निमोनिया भएर धेरैको मृत्यु भएको घटनाक्रमले देखाएको छ, के कारणले यस्तो भएको होला ?
कोरोना भाइरसको संक्रमणबाट निमोनिया बढ्नुको कारण चाहिँ कोरोना भाइरस भनेको चाहि कसरी बुझौं भने एउटा जंगलमा आगो लाग्दा जंगलको धेरै ठाउँमा असर गर्छ, त्यस्तै कोरोना भाइरसले पनि फोक्सोमा साना—साना गरी धेरै ठाउँमा समस्या गर्छ । लामो समयपछि त्यसले पूरै फोक्सोमा समस्या गर्छ । कोरोना भाइरसचाहिँ फोक्सोमा रहने एउटा युमेल सेल भन्छौं त्यो रोग प्रतिरोधात्मक कोशिको हो । त्यसैलाई नै प्रयोग गरेर कोरोना भाइरसले पुरै फोक्सोलाई असर गरिदिन्छ । अर्को कारण भनेको कोरोनाले एकैचोटी जटिल गराउनुभन्दा पनि लामो समयसम्म रोगलाई लम्ब्याउने काम गर्छ त्यसले गर्दा पनि फोक्सोमा समस्याहरु लामो समयसम्म लम्ब्याउछ र नकारात्मक असर पर्न जान्छ र मृत्युदर पनि बढ्ने गर्छ । 
० निमोनिया भएको कसरी थाहा पाउने ? 
निमोनिया भएको थाहा पाउन विरामीमा सुरुमा उच्च ज्वरो आउनु, खोकी लाग्नु, सुरुमा खोकी सुख्खा लाग्नु, पछि खोक्दाखेर खकार आउनु, पहेँलो रंग खकार, हरियो खालको खकार अथवा खकार खिया लागेको जस्तो आउनु, कतिपय निमोनियाहरुमा खकारमा रगतै देखिने हुन्छ । अर्को भनेको छाती दुख्ने, विशेष गरी लामो सास फेर्दा अर्थात् खोक्दा छाती दुख्ने, स्वासप्रश्वासको गतिदर बढ्ने, सास फेर्न गाह्रो हुने, त्यसको अलवा टाउको दुख्ने हुन सक्छ, ज्यान गल्ने, मुटुको चाल बढ्ने, पछि गएर वाकवाकी लाग्ने, उल्टी हुने, पखाला लाग्ने यावत कुराहरुको लक्षण देखिन सक्छ । यो लक्षण भएको विरामीहरुमा चिकित्सकहरुले छातीको चाँच गर्ने गर्छन्, छातीको आवाज सुन्छौं, त्यो आवाज सुनेर पनि हाम्रो क्लीनिकल डाइग्नोसिस एउटा हुन्छ । त्यसको अलवा रगतको केही जाँचहरु पनि गर्ने गरिन्छ, सुरुमा निमोनिया हो कि होइन भनेर छातीको एक्सरे गर्छौं त्यसपछि खकारको पनि जाँच गर्छौं विषाणु जिवाणुहरु केही छन् कि भनेर । कतिपय समयमा पिसावको पनि जाँच गर्नुपर्ने हुन्छ, रगतमा पनि धेरै लक्षणहरु हुन्छन् यावत एउटा क्लीनिकल डाइग्नोसिस र रगतलगायन केही टेस्टहरु गरेर हामीले निमोनिया हो कि होइन भन्ने पहिचान गर्छौं । 
० निमोनियाले प्रत्यक्षरुपमा हाम्रो शरीरको कुन भागलाई असर गर्छ ? 
प्रत्यक्षरुपमा निमोनिया भनेकै फोक्सोको संक्रमण हो यसले फोक्सोमै समस्या गर्छ । तर, त्यति भन्दैमा निमोनियालाई समयमै उपचार गरिएन, उपचार गर्दा पनि प्रभावकारी रुपमा गरिएन भने निमोनियाबाट संक्रमण रगतको माध्यमबाट फैलँदै जान्छ र शरीरको सम्पूर्ण भागहरुमा हामी सेफ्टी सेमिया भन्छौं त्यसबाट शरीरको सम्पूर्ण भागहरु मुटु, मष्तिस्क मृगौला सबैमा असर गर्छ भने प्रत्यक्ष रुपमा फोक्सोलाई असर गर्छ । 
० निमोनिया सरुवा रोग हो ? 
निमोनिया रोग चाहिँ मैले अघि भनेजस्तो प्रायः हुने भनेको ब्याक्टेरिया भाइरस भन्छौं कहिलेकाहिँ जिवाणु, किटाणु, विषाणु भन्छौं यावत कुराले हुने चाहिँ सरुवा रोग नै हो । यो पनि कुन चाहिँ किटाणु, जिवाणुहरुले गरेको हो त्यो अनुसार कतिको सर्ने शक्ति छ बढी कम भन्ने हुन्छ जिस्टमा भन्नुपर्दा संक्रमित जिवाणुले गर्ने रोगचाहिँ सरुवा नै हो त्यसको अलवा अर्को निमोनिया पनि हुन्छ जस्तो एउटा रसायनले गर्ने निमोनिया हुन्छ त्यसलाई हामीले केमिकल निमोनिया भन्छौं । कहिलेकाहिँ विशेष गरी वृद्धा अवस्थामा, अलिकति सुष्त मनस्थिति हुनेहरुमा, मानसिक रोगहरुमा हुने एक्सपीरियसन निमोनिया जस्तो सर्किएर हुने निमोनिया, विरामीले खाएको खानेकुरा पेटमा जानुपर्नेमा फोक्सोको नलीमा गएर हुने निमोनियालाई एक्सपीरियसन भन्छौं । यो चाहिँ सर्ने रोग होइन । किटाणुले भएको निमोनियाचाहिँ सरुवा भयो भने रसायन र एक्सपिरियसन र सर्केर हुने निमोनिया चाहिँ सरुवा होइन । 
० निमोनियाबाट बच्ने उपायहरु के होलान् ? 
निमोनियाबाट बच्ने उपाय भनेको मैले अगाडि नै भनेजस्तो स्वस्थ जीवनशैली अप्नाउनु नै हो । पोष्टिक आहार खाने, धुम्रपान, मद्यपान नगर्ने, समयमा सुत्ने, व्यायाम गर्ने त्यो बाहेक आफ्नो व्यक्तिगत स्वच्छताको लागि सावुन पानीले हात धुने, स्यानिटायजर लगाउने, कोरोना लागेको विरामी अथवा रुघाखोकी लागेको विरामीबाट केही दुरी कायम गर्ने, त्यसको अलवा फ्लु भ्याक्सिन निमोनियाका दुईटा भ्याक्सिन हुन्छ त्यो लगाउने । 
० निमोनियाका घरेलु उपचारहरु पनि केही छन् कि ?
निमोनियाको घरेलु उपचार चाहिँ हुँदैन, उपचार भनेको एन्टीभायोटिक नै हो । जे कारणले निमोनिया भएको छ त्यसलाई मार्न प¥यो । प्रायः निमोनियाहरु ब्याक्टेरियाले गर्दा हुने गर्छ जसलाई हामी जिवाणु भन्छौं, ती जिवाणु मार्न हामीले एन्टीभायोटिक प्रयोग गर्छौं । कहिलेकाहिँ भायरल जस्तो अहिले कोरोना भाइरसको कुरा भइरहेको छ, प्रायः हामी लक्षण अनुसारको उपचार गछौंं । तर, कहिलेकाहिँ एन्टीभायरल औषधी चलाउनुपर्ने हुन्छ । यसको अलावा चाहिँ घरायसी उपचारले निमोनिया ठिक पार्ने होइन तर, निमोनिया भएको लक्षणलाई चाहिँ केही सहज गर्ने हो । यसको हिसावमा हाम्रो जस्तो कसैलाई खोकी लागेको छ भने हाम्रो अध्ययनले के देखाएको छ भने मेथीको गेडा, पुदिना तातोपानीमा तताएर त्यसलाई चियाजस्तो बनाएर खाँदा खोकीलाई अलिकति सहज बनाउँछ । सँगसँगै खोक्दाखेरी आउने बलगम जसलाई हामी ल्युकस भन्छौं त्यसलाई ब्रेक गरेर केही सहज बनाउछ । अर्को भनेको खोकीकै लागि सहज गर्नको लागि कहिलेकाहिँ घाँटीमा बलगम अड्केको जस्तो, चिलाएको जस्तो त्यसलाई चाहिँ हामीले नुन पानीले कुल्ला गर्ने । त्यसको अलवा निमोनियाले गर्दा सास फेर्न गाह्रो भएको छ त्यसलाई सहज गर्नको लागि तातोपानीको बाफ लिने जसलाई हामी स्टीम भन्छौं । तातो पदार्थ जस्तो तातो पानी, सुप, चिया कफी खाँदा पनि हावाका नलीहरु अलिकति फुल्ने हुन्छ, नली फुलेपछि सास फेर्न केही सहज हुन्छ । जस्तो कसैलाई छाती दुखेको छ भने हाम्रो दैनिक प्रयोगमा आउने अदुवा, बेसार पानी तताएर खाँदा छाती दुख्न कम हुने खोक्दा सहज हुने हुन्छ । त्यसको अलवा अदुवा बेसार, लसुन पानी भयो, महले पनि शरीरलाई हिट हुने गर्छ त्यो खाँदा राम्रो गर्छ । अझ बच्चाहरुलाई मह, तुलसीको पातको पानी खुवाउँदा राम्रो हुन्छ । तर हामीले बुझ्नुपर्ने कुरा उपचार नै चाहिँ होइन लक्षण सहज गर्ने मात्रै हो । उपचार विभि भनेको चाहिँ एन्टिभायोटिक नै हो । 
० पछिल्लो समय निमोनियाका रोगीहरु धेरै नै बढेको पाइन्छ, के कारणले होला ?
कारण प्रदुषण नै हो, बाह्य र भित्री प्रदुषण । प्रदुषण धेरै भएर पनि हो । जस्तै घरमा धेरै आगो बाल्नेदेखि लिएर भित्री सरसफाई नगर्नाले र बाहिर पनि विशेष गरी काठमाडौं उपत्यकामा धेरै बायु प्रदुषण बढिरहेको छ सोही कारणले पनि निमोनियाका रोगीहरु बढिरहेका छन् । त्यसको अलवा मैले अगाडि नै भनिसकेँ दैनिक जीवनशैली मद्यपान, धुम्रपानलगायत हाम्रो दैनिक जीवनशैली वेस्ट्रनाइजेसन भइरहेको छ, पश्चिमेली शैली अप्नाइरहेका छौं । दैनिक व्यायाम छैन, कामहरु धेरै भएर स्ट्रेस धेरै भइरहेका छन्, पोष्टिक आहार धेरै खाइरहेका छौं, अधिकांश नेपालीहरुले भ्याक्सिन कम लगाइरहेका छौं । फ्लु भ्याक्सिन भन्ने वर्षको एक चोटी लगाउनुपर्ने भ्याक्सिन त्यो पनि लगाएको छैन । यही भएर आफ्नो स्वच्छ जीवन शैली नअप्नाएका कारण, प्रदुषणको मात्रा बढेको कारण र निमोनियाकै बारेमा एउटा सचेतना नभएर, भ्याक्सिनहरु नलगाएर पनि निमोनियाका रोगीहरु बढिरहेका छन् । 
० अन्तिममा छुटेका केही छन् कि ? 
अहिले त कोरोना भाइरसका कारण पनि धेरै नै नेपाली जनतामा सचेतना आइसकेको छ । कोरोना पनि एक प्रकारको भाइरस हो । भाइरसले निमोनिया गराउने गर्छ जस्तै भाइरस किटाणुहरु ब्याक्टेरियाहरुले पनि निमोनिया गराउने गर्छ । यसबाट बच्ने उपाय भनेको चाहिँ सकेसम्म निमोनिया हुनै नदिनु ठूलो कुरा हो । निमोनियाबाट मृत्युदर अलि बढि नै छ, सामान्य निमोनियाको घरमा उपचार भएता पनि जटिल निमोनिया छ भने अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमै राख्नुपर्ने अवस्था पनि हुन सक्छ । त्यही भएर जटिलता धेरै भएको हिसावमा निमोनिया हुनै नदिनुनै सबैभन्दा ठूलो कुरा हो । त्यसको लागि सबैले दैनिक जीवनशैलीमा ध्यान दिनुपर्ने हुन्छ, निमोनियाबाट जोगिन आजैबाट मद्यपान, धुम्रपान र सरल जीवनशैली अप्नाई आफ्नो घर वरीपरी प्रदुषण हुन नदिऊ, वर्षको एकचोटी फ्लु भ्याक्सिन लगाऔं, एउटा लक्षित वर्गहरु हुन्छन् जस्तो, सुगर, प्रेसर, दिर्घ रोगी, एचआईभी, मुटी रोगी, रोगसँग लड्न सक्ने क्षमता कम भएकाहरुका लागि चिकित्सकसँग सल्लाह गरी निमोनियाको भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ । 
 

सम्बन्धित समाचार