बोनमती बनिन् महिला विश्वकपकी सर्वोत्कृष्ट खेलाडी

20.5k Shares

काठमाडौँ/विजेता स्पेनकी आइताना बोनमती महिला विश्वकप फुटबलकी सर्वोत्कृष्ट खेलाडी बनेकी बनेकी छिन् । बार्सिलोनाकी मिडफिल्डर उनले स्पेनलाई पहिलोपटक विश्वकप जिताउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

यस्तै, जापानकी हिनाता मियाजावा सर्वाधिक गोलकर्ता बनिन् । प्रतियोगितामा उनले ५ गोल र एक असिस्ट गरेकी थिइन् ।

यसैगरी, उपविजेता इंग्ल्यान्डकी म्यारी इर्पस सर्वोत्कृष्ट गोलकिपर चुनिँदा विजेता स्पेनकी सल्मा पाराल्लुइलो सर्वोत्कृष्ट युवा खेलाडी बनिन् । क्वार्टरफाइनलमा रोकिएको जापान अनुशासित टोली बन्यो । 

अष्ट्रेलियामा भर्खरै सम्पन्न फाइनलमा इंग्ल्यान्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले विश्वकपको पहिलो उपाधि जितेको हो ।

सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा भएको फाइनल खेलमा ओल्गा कार्मोनाले २९ औँ मिनेटमा गोल गरेको गोल नै निर्णायक बनेको थियो । 

स्पेन र इंग्ल्यान्ड दुवै टोली पहिलोपटक फाइनलमा प्रवेश गरेका थिए । यससँगै महिला विश्वकपले नयाँ विजेता पाएको छ । 

सेमिफाइनलमा स्पेनले स्विडेनलाई र इंग्ल्यान्डले आयोजक अष्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । 

शनिबार भएको खेलमा आयोजक अष्ट्रेलियालाई पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको थियो । 

महिला विश्वकपको सर्वाधिक विजेता अमेरिका हो । उसले चार पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले दुई तथा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् । स्पेन नयाँ विजेता बन्न सफल रह्यो । 

सम्बन्धित समाचार