महोत्तरीमा यसरी भैरहेको छ तस्करी धन्दा

18.3k Shares

महोत्तरी ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी नियन्त्रणका जतिसुकै भाषण दिएपनि र नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका महानिरीक्षक बसन्त कुंवर अनि राजु अर्यालले जतिसुकै निर्देशन  दिएपनि मधेस प्रदेशका केही जिल्लामा तस्करी नियन्त्रण त परै जावोस झन् झन् बढेको छ । जसको असर  राजश्व संकलनमा देखिएको छ । अहिले महोत्तरीको सम्सी , खयरवनी , रघुनाथपुर र संग्रामपुर क्षेत्रबाट ठूलो मात्रामा तस्करी धन्दा चलिरहेको छ । तस्करी धन्दामा नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका  स्थानीय  चौकी देखि बिओपीका प्रमुख मात्रै नभएर जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएका घुमुवाहरूको पनि सहयोग रहेको छ ।

सर्लाही र महोत्तरी जिल्लाको सीमामा रहेको हर्दी खोला रहेको छ ।  भारतीय क्षेत्रमा  सीमावर्ती गाउँ बथुवारा  पर्दछ । नेपाल तर्फ सर्लाहीमा शितलपुर र महोत्तरीमा खयरवनी गाउँ पर्दछ ।यी दुई गाउँको बीचमा हर्दी खोला रहेको छ । त्याहांबाट झण्डै ७÷८ किलोमिटर पछि महोत्तरीको कतर्वा गाउँ रहेको छ । त्यसपछि केही भाग जंगल हुदै गौशाला बजार पुगिन्छ । यही बाटो भएर अहिले कपडाको ठूलो तस्करी धन्दा चलिरहेको छ । यहाँबाट नेपाल प्रहरी  र सशस्त्र प्रहरीलाई सेटिङ मिलाएर ठूलो तस्करीको धन्दा चलाउने तस्करहरू हुन नेपाली बेचु पटेल र भारतीय नागरिक उमेश ।

बेचु पटेल रघुनाथपुरको हुन । यसबाहेक यो तस्करी धन्दामा भगवतीपुरको रमेश साह  र सम्सीको राजेश यादव पनि संलग्न रहेको खुलेको छ । बेचु पटेलको साझेदार रघुनाथ हुन । रघुनाथ , बेचु पटेल र भारतीय नागरिक उमेश मिलेर अहिले हर्दी खोलाको बाटो हुदै ठूलो मात्रामा तस्करी धन्दा चलाई रहेका छन् । यो तस्करी धन्दामा सशस्त्रको रघुनाथपुर , खयरवनी  एवं नेपाल प्रहरीको स्थानीय चौकीका प्रमुखहरूको सहयोग र सेटिङ रहेको छ । उनीहरूको सहयोग बिना यसरी ठूलो मात्रामा तस्करी धन्दा चल्न नसक्ने स्थानीय बासिन्दा बताउँछन् ।

यो तस्करी धन्दाको जानकारी जिल्ला प्रहरी कार्यालय महोत्तरी र सशस्त्र प्रहरी महोत्तरी गणलाई थाहा नभएको होइन तर पनि तस्करी नियन्त्रण भएको छैन । केही दिन अगाडि जिल्ला प्रहरी महोत्तरीका घुमुवा सहायक हवल्दार धर्मेन्द्र यादवले चारवटा मोटरसाइकलमा कपडा तस्करी गरिरहेको अवस्थामा पक्राउ गरेका थिए । उक्त तस्करीको कपडा गौशालाका व्यापारी कालियाको भएको समेत सार्वजनिक भएको थियो । घुमुवाले तस्करीको कपडा पक्राउ गरेपछि सम्सी नाकामा तस्करीको सेटिङ मिलाउने काम गर्दै आएका राजेश यादवलाई भेट्न घुमुवा धर्मेन्द्र यादव मंगलबार पुगेका थिए । राजेश यादव कालियाको लागि सम्सीमा तस्करीको सेटिङ मिलाउने काम गर्दै आएको समेत स्थानीय बताउँछन् । यस बिषयमा व्यापारी कालियासंग जानकारीका लागि सम्पर्क राख्दा उनले आंफुले तस्करी नगरेको बताए ।  महोत्तरीबाट तस्करी भएको कपडा गौशाला बजारमा मात्रै नभएर सिन्धुली, रामेछाप र दोलखासम्म पुग्दै आएको छ ।

सम्बन्धित समाचार