काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले शुक्रबार विरोध प्रदर्शन र सभा गर्दैछन् ।
सभा अहिले केहीबेरमा सुरू हुदैछ । प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेका थिए । त्यसपछि भने आन्दोलन शिथिल बनेको टिप्पणी भएपछि उपत्यकाकेन्द्रित ठूलो सभाको आयोजना गरेका हुन् । नेकपा नेताहरुका अनुसार आज काठमाडौंमा दुईलाख मान्छे उतार्ने तयारी छ ।
काठमाडौंमा विभिन्न ९ स्थानबाट अहिले जुलुस निस्किएर पुरानो बसपार्कअगाडि सभामा परिणत हुँदैछ ।
जुलुस त्यहाँ पुग्ने क्रम जारी छ । विभिन्न ठाउँबाट निस्कने जुलुसको नेतृत्वका लागि नेकपा (प्रचण्ड–नेपाल समूह)ले स्थायी कमिटी सदस्यहरूलाई जिम्वेवारीसमेत तोकेको छ । माइतीघरबाट निस्किएको जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लिलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडाले नेतृत्व गरेका छन् ।
डिल्लीबजार, चारखालबाट निस्किएको जुलुसको नेतृत्व वर्षमान पुन र बेदुराम भुसालले गरेका छन् । लैनचौरबाट निस्किएको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले नेतृत्व गर्नेछन् । त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेलले गरेका छन् । कुपन्डोलबाट निस्कने जुलुको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापाले गर्नेछन् । प्रदर्शनीमार्गबाट निस्कने जुलुसको नेतृत्व घनश्याम भुसाल र जनार्दन शर्माले गर्नेछन् ।
शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र सहसंयोजक योगेश भट्टराइले गर्नेछन् । त्रिचन्द्रबाट निस्कने विद्यार्थीको जुलुस देवप्रसाद गुरूङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, हितमान शाक्यले गर्नेछन् । बाल्मिकी क्याम्पस अघिल्तिरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्नेछन् ।
सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र घनश्याम भुसालले सम्बोधन गर्ने बताइएको छ । रत्नपार्क भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागिएको र तीनैतर्फ र टुँडीखेल वरिवरिकै आवागमन पूर्णतः प्रभावित हुने नेकपाले जनाएको छ । विरोध प्रदर्शनका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्एिकएपछि उपत्यकाकै ट्राफिक अस्तव्यस्त बनेको छ ।