काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले इबरलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
इबरको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेजले दुई गोल गरे ।
खेलमा सुरुआती अग्रता इबरले अग्रता बनाएको थियो । खेलको १२ औं मिनेटमा मार्काे डिमिटोर्भिकले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
४० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको एट्लेटिकोले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
८९ औं मिनेटमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ । १७ खेल खेलेको एट्लेटिको ४४ अंकसहित शीर्ष स्थानमा छ । १९ खेलबाट १९ अंक जोडेको इबर तालिकाको १५ औं स्थानमा छ ।