मुलुकमा फेरि रक्तपातपूर्ण हिंसाको खतरा

18.1k Shares

काठमाडौं । बिघटित नेपाल कम्युनिस्ट पार्टीका नेताहरुबीच अहिले शितयुद्ध चलिरहेको छ । सामान्य शिष्टता नै बिर्सेर प्रधानमन्त्री भइसकेका नेताहरु एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । यस्तो लाग्छ कि उनीहरु शब्दवाण प्रहार गर्दै मुठभेडमा मुलुकलाई लान तयार भएका छन् । नेकपाको केपी शर्मा ओली पक्षधर सरकारमा बसेर प्रचण्ड र माधव नेपाल समूहलाई पेलेरै लाने गरी बढिरहेका छन् । उनीहरु राजनीतिक व्यवस्था नै दाउमा राखेर चल्न खोजिरहेका छन् । यसको संकेत प्रधानमन्त्री ओलीले गरिसकेका छन् । 
ओलीले देशका तीनजना प्रधानमन्त्रीहरुलाई एकसाथ सडकमा बसेर धर्ना कस्नुपर्ने अवस्थामा पुर्‍याइदिएका छन् । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल माइतीघर नजिकैको सडकको पिचमा हामी यहाँ छौं भन्दै बस्न वाध्य बनाइदिएका छन् । प्रचण्ड जस्तो नेता सडकको पीचमा बस्नुपर्ने अवस्था आउनु सामान्य घटना होइन । यसले कुनैपनि बेला खतरनाक मुठभेड निम्त्याउने निश्चितप्रायः छ । प्रचण्ड स्वयंले अबको आन्दोलन शाकाहारी नहुने भनिसकेका छन् । उनले अबको आन्दोलन आक्रामक र सिंहले गर्जिएजस्तै हुने बताइसकेका छन् । पार्टी निकट युवाविद्यार्थीलाई आक्रामक बन्न भनेका छन् । उनी आफैले लाठी खान तयार भएको बताइसकेका छन् । यसबाट प्रचण्ड अब भिड्न तयार अवस्थामा रहेको सन्देश प्रवाह भएको छ । 
देशमा प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदै पक्ष विपक्षबीच धम्कीको राजनीति शुरु भएको छ । सर्वोच्च अदालतलाई समेत दबाब दिने गरी अभिव्यक्ति आउन थालेका छन् । यसले देशको राजनीति अब सामान्य ढंगले नबढ्ने निश्चित भइसकेको छ । प्रधानमन्त्री ओली पनि जुनसुकै मूल्य चुकाएर पनि प्रतिनिधि सभा बिघटनलाई मान्यता दिएर चुनावमा जाने तयारीमा छन् । तर, त्यो चुनाव हुने छाँटकाँट देखिँदैन । ओली चुनाव नगरी सत्तामा टिकिरहने दाउमा छन् । उनले विगतमा पनि सत्ताबाट हटाउन खोजे कठोर कदम चाल्ने चेतावनी दिएका थिए । नभन्दै सत्ता संकट टार्नकै लागि आफैलाई प्रधानमन्त्री बनाउने प्रतिनिधि सभाको कत्लेआम गरेका थिए । उनले अब जुनसुकै कदम चालेर भएपनि आफ्नो कदमलाई सदर गराउने हठ कायम गरेर बढेका छन् । ओलीको यही कदमले देशमा मुठभेड हुँदै रक्तपातसम्म मच्चाउने खतरा बनेको छ । 
नेकपा अध्यक्ष प्रचण्डले आफू राजनीतिक मूलधारमा आइसकेकाले विद्रोह नगर्ने तर ओलीको कदमले देश खतरनाक सुरुङमा जाने बताएका छन् । देशमा ओलीको कदमविरुद्ध विद्रोह हुने र त्यसलाई दमन गर्ने गतिविधि हुँदा अर्को अराजकताको भुमरिमा देश फस्ने बताएका छन् । उनको यो भनाईले निकै ठुलो सन्देश बोकेको छ । प्रचण्डले विद्रोह गर्ने आफूबाहेक अरु पनि भएको संकेत गरेका छन् । ओलीले डरलाग्दो भुमरीमा देशलाई हालेको उनको भनाई छ । हुनपनि ओलीको कदमविरुद्ध प्रचण्ड र माधव नेपाल मात्र अगाडि आएका छैनन् । उनीविरुद्ध विप्लवसहित उग्र कम्युनिस्टहरु एक भई कडा कदमतर्फ बढिसकेका छन् । यसले कुनैपनि बेला डरलाग्दो द्वन्द्व चल्ने खतरा बढेको छ । 
अहिले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको मुद्दा विचाराधीन छ । तर, त्यसलाई प्रभावित पार्ने चलखेल भइसकेको छ । ओलीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको खुलिसकेको छ । यसरी उनी कुनै हालतमा प्रतिनिधि सभा पुर्नस्थापनाविरुद्ध फैसला गराउन लागिपरेका छन् । त्यस्तो अवस्थामा आएमा खतरनाक अवस्था आउनसक्ने टिप्प्णी प्रचण्डले गरिसकेका छन् । एकातर्फ प्रचण्ड आन्दोलनलाई शाकाहारी नबनाइराख्ने बताउँदै आएका छन् । अर्कोतर्फ, सरकारले सुरक्षा निकायलाई शतर्क रहन निर्देशन दिएको छ । कुनैपनि बेला देशमा दंगा र अराजकता मच्चाउने चलखेल हुनसक्ने भन्दै सुरक्षा निकायलाई शतर्क बनाइएको छ । सडकका गतिविधि विस्तारै अशान्त हुने संकेत स्वयं नेताहरुले गरिसकेकाले पनि शतर्क बनाइएको हो । ओलीमाथि दबाब बढाउन प्रचण्ड र माधवकुमार नेपालले असामान्य आन्दोलन चलाउन खोजेका छन् । माधव नेपालले त आँधीबेहरी ल्याउने चेतावनी दिइसकेका छन् । संविधान बचाउन प्रतिनिधि सभाको पुनःस्थापनाको विकल्प छैन र यसका लागि जुनसुकै कठोर कदमका लागि तयार हुनुपर्छ भन्ने सन्देश प्रचण्डले दिइरहेका छन् । उनले गणतन्त्र जोगाउन जुनसुकै मूल्य चुकाउने चेतावनी दिएबाट देशमा ठुलै मुठभेडको खतरा बढेर गएको छ । मुठभेडले रक्तपात मच्चाउने खतरा पनि उत्तिकै छ । 
प्रचण्डले अब लाठी खान मन लाग्यो भन्न थालेका छन् । उनले लाठीको कुरा गर्नुले अर्को मुठभेडमा जाने तयारी बुझ्न सकिन्छ । माधवकुमार नेपालले आन्दोलनको सुनामी ल्याउने चेतावनी दिइसकेका छन् । हुनपनि ओलीले गणतन्त्र र संघीयता नै सिध्यान खोजेको संकेतहरु देखिनथालेका छन् । उनले जसरी हुन्छ प्रचण्डलाई सिध्याउने तरिका अपनाएका छन् । स्वयं प्रचण्डले ओलीले आफूलाई सिध्यान खोजेको आरोप लगाएका छन् । अबको लडाईं प्रचण्डविरुद्ध ओली हुँदै गएको छ । प्रचण्डले २१ सय वर्ष पुरानो राजतन्त्र ढालेको र अढाई सय वर्ष पुरानो शाह वंशको अन्त गरेको स्मरण गराउँदै गणतन्त्र बचाउन जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । उनले यसो भन्नुले गणतन्त्रको रक्षाका लागि अर्को हिंसा हुनसक्ने सम्भावनालाई नकार्न सकिदैन । गणतन्त्र पक्षधर नेक्रवित्रम चन्द विप्लवको सैन्य गतिविधि बढ्दै गएको छ । ओलीविरोधी मोर्चा कसिदै गएको छ । उनीहरु मुठभेडमा जान पनि सक्छन् । यसले देशलाई अर्को रक्तपातमा धकेल्ने खतरा बढेर गएको छ । 
ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभिन्न समूहहरु सक्रिय हुनथालेका छन् । गणतन्त्र र राजतन्त्रका पक्षधरहरु शक्ति सञ्चयमा लागेका छन् । सडकमा दुवै समूह सक्रिय छन् । उग्रपंवादी समूह उत्तिकै योजनावद्ध तरिकाले लागिपरेको छ । धर्मनिरपेक्ष हटाउनुपर्ने पक्षधर उक्तिकै सत्रिय छ । यसरी अतिवादी समूहहरु संगठित हुँदै गएका छन् । निर्वाचन आयोगले सुर्य बारे गर्ने फैसला र सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको रिटमाथिको संवैधानिक इजलासले लगाउने किनाराबारे धेरैको ध्यान छ । तर, पुनःस्थापनाको विपक्षमा फैसला भएमा अर्को अराजकतामा देश जाने अनुमानहरु लगाउन थालिएको छ । स्वयं प्रचण्डले देश अराजकतामा जाने टिप्प्णी गरेका छन् । संसद पुनःस्थापना नभएमा देशमा हिंसा मच्चिने घटनाहरु हुनसक्ने खतरा देखिएको छ । 

सम्बन्धित समाचार