मौका छोप्दै वामदेव

17.7k Shares

काठमाडौं । नेकपाभित्र सबैले कित्ता छुट्याइसक्दा उपाध्यक्ष वामदेव गौतम भने तटस्थ भुमिकामा छन् । उनी अहिलेसम्म कुनै समूहमा नजाने घोषणा गरिबसेका छन् । उनले गत शनिबार एकता अभियान चलाएका छन् । अभियानमा दुवै पक्षमा नलागेका नेता कार्यकर्ता सहभागी छन् । उनले यसैमार्फत् शक्ति सञ्चयको रणनीति समेत बनाएका छन् । गौतमप्रति नेकपाका कतिपय नेता कार्यकर्ताले आशा राखेका छन् । 
राष्ट्रिय सभाको बैठकमा गत हप्ता दिनानाथ शर्माले वामदेव गौतमको नामै लिएर नेपाल कम्युनिस्ट पार्टी मिलाउन रसायन हुनसक्ने बताएका थिए । उनले गौतमले फेरि पार्टी मिलाउन सक्ने भनेका थिए । गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेर रसायन तयार गरेका हुन् । पुनः एकीकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । उनले दुवै नेतासमक्ष एकताको सूत्रबारे समेत प्रस्ताव गरेको बुझिएको छ ।  
गौतमले नेकपा मिलाउन आएको चिनियाँ टोलीसँग पनि भेटवार्ता गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौंसँग भेटी नेताहरुलाई मिलाउने सूत्रबारे कुरा गरेका थिए । उनले चीनबाट रसुवा नाका हुँदै पसेको तीनजना चिनियाँसँग पनि भेटेको बुझिएको छ । अहिले गौतम र चिनियाँहरुको नेकपा मिलाउने स्वार्थ मिलेको छ । त्यसैले गौतमप्रति चीनले बढी भरोसा गरेको देखिदैछ । उनको कदमले नेकपा पुनः एकीकरण हुनसक्नेमा चिनियाँ पक्ष आशावादी रहेको बुझिएको छ । 
निर्वाचन आयोगमा समेत गौतमको चासो बढेको छ । उनले त्यहाँ सम्पर्क गरी नेकपा विवाद सल्टाउने उपायबारे कुरा 
गरेको बुझिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग यसबारे कुरा गरेको थिए । विश्वस्त स्रोतका अनुसार गौतमले केही समय नेकपा विवादको टुंगो लगाउन अलमल गर्न भनेका छन् । थपलिया यसप्रति सकारात्मक भएका छन् । थपलियाले गौतमले नेकपा मिलाइदिए हुन्थ्यो भन्ने बताएको बुझिएको छ । उनी अहिले निकै दबाबमा परेका छन् । निर्वाचन आयोगले पनि वामदेवकै लाइनमा निर्णय लिने संकेत गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनले नेकपा विभाजन हुन मिल्दैन । वामदेवले पनि यही लाइन समातेका छन् । उनले कानुनी रुपमा नेकपा विभाजन हुन नसक्ने स्पष्ट पारिसकेका छन् । एमाले र माओवादी मिलेर बनेको नेकपा फुट्न कम्तिमा पाँच वर्ष एकीकरण भएको हुनुपर्छ । तर, नेकपा एकीकरण भएको तीन वर्ष मात्र पुगेको छ । फुटका लागि अध्यादेश ल्याएर ऐन संशोधन अनिवार्य हुन्छ । यही बिन्दु टेकेर निर्वाचन आयोग अघि बढ्दैछ । पार्टीको आधिकारिकता ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई मात्र दिने तयारी भएको छ । वामदेवले खोजेको पनि यही हो । उनी अहिले पनि ओली र प्रचण्ड दुवै अध्यक्ष भएको नेकपामा छन् । दुवै समूहले उनलाई उपाध्यक्ष मानेकै छ । यही जस लिएर गौतम भविष्यमा बलियो बन्ने रणनीतिमा छन् । उनले पुनः एकीकरण गराउन सके भविष्यमा पार्टीकै नेतृत्वमा पुग्ने आशा समेत राखेका छन् । तर, त्यो सजिलो भने छैन । 
 

सम्बन्धित समाचार