बेनी । बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ ।
संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुराएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुराएको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए । “बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको”, उनले भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्ग समेत बाढीले बगाएको छ ।
ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट रु ४५ लाख बराबरको क्षति पुराएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ ।