खेलक्षेत्रबाटै देशको लागि केही गर्नुपर्छ ः खत्री

15.8k Shares

धनसम्पत्तिलाई भन्दा पनि आफ्नो इमान्दारिता, मेहनत र अरुको खुसीमा आफू आफ्नो खुसी ठान्छन् तेक्वान्दोका पाँचौं डान काभ्रेपलाञ्चोक जिल्ला रोसी गाउँपालिका—२ काफलडाँडाँका राजेन्द्र खत्री । जीवनभर अरुको खुसी नै आफ्नो खुसी ठान्ने खत्रीले चाहेको भए अहिले पाँच करोडको मालिक बन्न सक्थे तर, त्यसो नगरी खत्रीले खेलकुदमा रुचि राख्ने आर्थिक स्थिति कमजोर भएका र अपांगहरुलाई निःशुल्क रुपमा लामो समयदेखि समय दिई तेक्वान्दोको प्रशिक्षण दिइरहेका छन्  । 
खत्रीले तेक्वान्दोका खेलाडी आफ्नो १२ वर्षीय छोरा दिलिप खत्रीको रेविजबाट मृत्यु भएपछि छोराको नाममा दिलिप स्मृति प्रतिष्ठानअन्तर्गत तेक्वान्दो खेलाडीहरुलाई निःशुल्करुपमा प्रशिक्षण दिँदै आइरहेका छन् । खत्रीले त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलको ग्राउण्डमा निःशुल्क तालिम दिँदै आइरहेका छन् भने खत्रीका छोरा सो दिलिप सोही स्कुलमा अध्ययन गर्दथे । 
खत्रीले पछिल्लो समय विश्व निकेतन स्कुलका ६० जना र दिलिप स्मृति डोजाङअन्तर्गत ३० जनालाई प्रशिक्षण दिँदै आइरहेका छन्  । खत्रीद्वारा प्रशिक्षण दिएका खेलाडीहरुले नेपालमा आयोजित हरेक प्रतियोगिताहरुमा पहिलो र दोस्रो स्थान हाँसिल गर्दै आइरहेका छन् भने खत्रीद्वारा प्रशिक्षित खेलाडीहरु पछिल्लो समय विभागीय टोली आर्मी र पुलिसमा पनि परिसकेका छन् । रेजुना ठकुरी र मनिषा मगर आर्मी क्लबबाट खेलिरहेका छन् भने अमृत बोहोरा र अन्जली भुजेल नेपाल पुलिस क्लवबाट खेलिरहेका छन् । विभागीय टोलीमा आफूद्वारा प्रशिक्षित धेरै खेलाडीहरु खेल्ने गरेको खत्री बताउँछन् । खत्रीद्वारा प्रशिक्षित तीन दर्जन भन्दा बढी खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गरिसकेका छन् भने मेडल पनि ल्याउन सफल बनेका छन् ।
आफ्नो दयनिय आर्थिक अवस्थामा पनि खेलप्रति माया र आफ्नो देशको नाम विश्वसामु चिनाउने उद्देश्यका साथ लागेका खत्रीले पैसा कमाउने धेरै अवसरहरु पाएका थिए । उनले चाहेका भए खेलकुदकै सिलसिलामा दुई—दुई पटक कोरिया, ट्युनिसियालगायतका मुलुकमा गएको बेला उतै भासिने थिए । अहिले केही नभए पनि पाँच करोडको मालिक बन्ने थिए होला । तर खेलकुदबाटै आफ्नो मुलुकको झण्डा विश्वसामु फहराउने उद्देश्यका साथ अगाडि बढेका खत्रीले त्यसो गर्न चाहेनन् ।  बरु खेलक्षेत्रबाट देशको लागि केही गर्नुपर्छ भनेर निरन्तर आफ्नो धरातललाई नर्विसिएर निरन्तर लागिरहे खत्री । 
हाल राष्ट्रिय खेलकुद परिषद्मा करारका रुपमा कार्य गर्दै आइरहेका २०४९ सालबाट तेक्वान्दो खेलमा आवद्ध खत्री त्रिपुरेश्वरमा एउटा कोठा भाडामा लिई गुजारा चलाउँदै आइरहेका छन् । खत्रीका हाल चार परिवार छन् । चारै जना तेक्वान्दो खेलप्रति आवद्ध भएको खत्री बताउँछन्  । स्व. छोरा दिलिप पनि तेक्वान्दो खेलप्रति आवद्ध थिए भने त्यतिबेला दोस्रो डानका रुपमा खेल्दै आइरहेका थिए ।
पुरानो याद दिलाउँदै खत्री भन्छन्, आफूले २०४९ सालमा बालुवा, गिट्टी, सिमेन्ट बोक्दै दशरथ रंगशालाबाट तेक्वान्दो खेल सुरु गरेको बताउँछन् । आर्थिक अवस्था निकै नै कमजोर भएका कारण नेपाल तेक्वान्दो संघले केही छुट दिई टे«निङमा सहभागी गराएको पनि स्मरण गराउँछन्  ।
खत्रीले बिहान र बेलुकी आर्थिक अवस्था निकै नै कमजोर भएका तेक्वान्दो खेल खेल्ने रुचि भएका र आर्थिक अवस्था ठिकै भएकाहरुलाई पनि निःशुल्क रुपमै प्रशिक्षण दिँदै आइरहेका छन् । 
ब्वाइज युनियन तेक्वान्दो डोजाङबाट प्रशिक्षण सुरु गरी हाल दिलिप स्मृति प्रतिष्ठानअन्तर्गत खेलाडीहरुलाई प्रशिक्षण दिलाउँदै आइरहेका छन्  । 
खत्रीले तेक्वान्दो खेलकै क्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक ल्याउन सफल बनेका छन् । खत्रीले अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुम्सेतर्फबाट कास्यपदक ल्याउन सफल बनेका छन् भने राष्ट्रियस्तरको तेक्वान्दो तर्फको पुम्से विधामा रजत, कोरियन एम्बेस्डर गराउँदा काठमाडौंमा रजत पदक ल्याउन सफल बनेका थिए । 
खत्री नेपाल तेक्वान्दो संघ र ककिवानद्वारा आयोजित प्रतियोगितामा सम्मानितसमेत भएका छन् । कोरियाको सिओलमा २००९ मा सफलतापूर्वक मास्टर ट्रेनिङ र कोरियाकै दोस्रो पटक भोजमा गएर ग्लोबल मास्टर ट्रेनिङसमेत गरिसकेका छन् । खत्रीले ट्युनिसियामा आयोजित पारा तेक्वान्दो प्रतियोगितामा पारा तेक्वान्दोको टिम कोचको भूमिका समेत निर्वाह गरिसकेका छन् । खत्रीले पारा तेक्वान्दोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरेका छन् । खत्रीले उत्पादन गरेका खेलाडीहरुमा सोम सुनुवार, नवराज कार्की, रामबहादुर कार्की रहेका छन् । काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय पारा तेक्वान्दोल प्रतियोगितामा नेपालको तर्फबाट खत्रीद्वारा प्रशिक्षित खेलाडीहरुले स्वर्णपदक ल्याउन समेत सफल बनेका थिए ।
खत्रीले आर्थिक अवस्था कमजोर भएका तेक्वान्दो खेलप्रति रुचि भएकाहरुलाई निःशुल्करुपमा प्रशिक्षण दिँदै आइरहेका छन् । यो प्रशिक्षणका लागि चाहिने सामाग्रीलगायत अन्य खर्चका लागि विभिन्न दाताहरुले सहयोग गर्दै आइरहेका छन् । सहयोग गर्नेहरुमा गणेश लामा, सार्कीमान बल, अमित लामा, मदन गिरी, महेश नेवाः मनोज खड्गी, साजन तामाङ, जगत लामा, सञ्जय श्रेष्ठ, जितेन खड्गी, गोविन्द केसीलगायतका दाताहरुले सहयोग गर्दै आइरहेका छन् । 

सम्बन्धित समाचार