काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना एक नेताको बहिनी भएकै आधारमा प्रहरीले घरमै गएर ढाड भाँचिने गरी कुटपिट गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी आइतबार आफ्नो पार्टीका संखुवासभा सेक्रेटरी युवराज राईको घरमै गएर प्रहरीले कुटपिट गरी उनकी बहिनी चन्द्रकला राईको ढाड भाँचेको भन्दै भत्र्सना गरेका हुन् ।
संखुवासभाको चैनपुर–४ मैदानेमा भएको यस घटनालाई प्रहरीले दोहोरो भिडन्त भनेर समाचार फैलाएको आरोप लगाउँदै विप्लव समूहले खण्डन गरेको छ ।
साथै सुरक्षा निकायविरुद्ध आक्रमण गर्ने नीति आफूहरूको नरहे पनि राज्यले परिस्थितीलाई उक्साउने, उत्तेजित बनाउने काम जारी राखे शसक्त प्रतिरोध गर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।