काठमाडौं, पुस १० । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने गरेपनि यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउने गरेका छन् ।
येशुको जन्मोत्सवको उपलक्ष्यमा ख्रिष्टियनधर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन् ।
क्रिसमसको रौनकसँगै रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ ।
कोभिड–१९ का कारण विगत आठ महिनादेखि ठप्प बजार विस्तारै खुल्न थालेपछि क्रिसमसको माहोल तातेको छ ।
क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ । काठमाडौंको ठमेललगायतका स्थानहरुमा गएराति क्रिसमस इभको हर्षोल्लास देखिएको थियो ।
आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।क्रिसमस मनाउन आउने युवापुस्तालाई स्वागत गर्न ठमेल, दरबारमार्गलगायतका स्थान तयारी अवस्थामा छन् ।