पर्सा । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवर प्रहरी संगठनलाई शुद्धीकरण गर्ने बताइरहेका बेला मातहतका कार्यालयहरूमा त्यसको ठीक उल्टो शुद्धीकरण होइन जसरी पनि कमाउनु छ, उठाउनु छ अनि रंगे हात वा घुष लिएको पुष्टि भए पनि जसरी पनि जोगाउनु छ भन्ने अभियान नै चलेको छ ।
अनि कसरी हुन्छ शुद्धीकरण । यसको पछिल्लो उदाहरण हो पर्सा जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी गण्डकको घुष काण्ड । घुष लिएको प्रमाण सहितको घटना भए पनि सामान्य स्पष्टीकरण मात्रै सोधेर दोषीलाई जोगाउने अन्तिम तयारी यहाँ भैरहेको छ ।
श्रीपुर बडा प्रहरी कार्यालय, गुडगाई चौकी र जिल्ला प्रहरी कार्यालय पर्साको कर्मचारी प्रशासन शाखामा बसेर फाइदासँगै बदनामी कमाएका असई रास नारायण यादवलाई यसरी जोगाउने खेल भैरहेको हो । असई दर्जाको लागि भन्सार भनेर चिनिदै आएको गण्डक प्रहरी चौकीमा गएको तीन दिनमा नै असई यादव मात्रै होइनन् उनीसँगै त्यहाँ कार्यरत १२ जना अन्य प्रहरी पनि जिल्ला प्रहरी कार्यालयमा तानिएका छन् । उनीहरूको ठाउँ नयाँ सेट पठाइएको छ । असई यादवले ट्रकको बडी बनाउने व्यक्तिसँग १५ हजार घुष मागेर बार्गेनिङ गर्दै ५ हजारमा सेट गरि घुष लिएपछि उनी सहितको टोली जिल्लामा तानिएको हो । मधेस प्रदेशका सांसद रहमान अन्सारीको आफन्त पर्ने ती ट्रकको बडी बनाउने व्यक्तिले रहमानलाई भनेपछि रहमानले डिआइजी जनक भट्टराईसम्म कुरा पुगेपछि उनी सहितको टोली तानिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले असई यादवलाई स्पष्टीकरण सोधिएको भन्दै घटनाको पुष्टि गरे । लामो समयदेखि तराईका जिल्लामा बस्ने प्रहरीमा यस्तो घुष प्रकरण अनेकौं रहेका छन् ।