प्रभु बैंकका सीइओ शेरचनद्वारा कमिशनको भरमा अरबौं खराब कर्जा, निक्षेपकर्ताको रकम डुब्ने खतरा

23.6k Shares

काठमाडौं । अशोक शेरचन नेतृत्वको प्रभु बैंकबाट प्रवाह भएका अधिकांश कर्जा खराब कर्जाका रुपमा परिणत भएको तथ्य फेला परेको छ । शेरचनले स्विकृत गरेको ऋणहरु खराब नजिर भएका संस्था र व्यक्तिमा लगानी गरेको पाइएको छ । जसले गर्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको छ ।

शेरचनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० करोड कर्जा प्रवाह गरेको विषय सार्वजनिक भइसकेको छ । यसैगरी प्रभु बैंकले थप अन्य जोखिमयुक्त कम्पनीहरुलाई पनि कर्जा प्रवाह गरेको भेटिएको छ । सीइओ अशोक शेरचनले कर्जा डुब्न सक्ने जोखिमलाई आँकलन नगरी हचुवामा कर्जा प्रवाह गर्दा बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ ।

प्रभु बैंकबाट शिव शिखर एग्रोलाई ७५ करोड सहित भूमि इन्फ्रास्ट्रक्चर, नेपाल जनरल मार्केटिङको नाममा अरबौं कर्जा, देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंद्वारा संचालित विभिन्न कम्पनीलाई अरबौं ऋण प्रवाह भएको तथ्य पनि सार्वजनिक भइसकेको छ । प्रभु बैंकले कर्जा प्रवाह गरेकोे शिव शिखर एग्रो, शिव शिखर अर्गनाइजेशन र निक्षेपकर्ताको रकम डुबाई बन्दजस्तै अवस्थामा रहेको देउराली सहकारीका अध्यक्ष चौलागाईंका विभिन्न कम्पनी र उनी चढ्न तिनवटा करोडौं पर्ने गाडीसहित गरी अरबौं ऋण प्रवाह गरेको संस्थाहरुका सञ्चालकहरु यतिबेला कोही फरार छन् भने कोही हिरासतमा छन् भने कोही गुमनाम अवस्थामा बसेका छन् ।

प्रभु बैंकबाट ७५ करोड रकम लगानी भएको शिव शिखर एग्रोकी सञ्चालक गिता शर्मा हुन्, उनी यतिबेला रकम हिनामिना गरेको आरोपमा थुनामा छिन् । यसैसँग आवद्ध शिवशिखर सहकारीको बचत फिर्ता गर्न नसक्दा उनका श्रीमान केदारनाथ शर्मा फरार छन् भने अन्य सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी यसअघि पक्राउ परिसकेका छन् । प्रभु बैंककी ऋणी गिता शर्मा शिव शिखर सहकारी संस्थाको मुख्य साझेदारी रहेको शिखर अर्गनाइजेसन प्रालिकी निर्देशक समेत हुन् । बचत गरेको रकम तथा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी निक्षेप रकम ठगी गरेको आरोपमा पक्राउ गरी प्रहरीले उनिमाथि थप अनुसन्धान गरिरहेको छ । केदारनाथ शर्मा बचतकर्ताको १२ अर्ब रुपैयाँ ठगेर भागेका शिखर अर्गनाईजेशन र तुलसी बहुमुखी सहकारी संस्था दुवै संस्थाका मालिक हुन्, जो अहिले फरार छन् ।

त्यस्तै, देउराली सहकारीका अध्यक्ष रविन्द्र चौंलागाईंले लिएको अरबौं ऋण नउठ्ने भएपछि धितो राखेको केही जग्गा प्रभु बैंकले लिलामी प्रक्रिया समेत अगाडि बढाएको छ । तर, प्रभु बैंकले लिलामी अगाडि बढाएको जग्गा लिलामी गर्दा पनि लगानी गरेको रकम नउठ्ने बैंककै कर्मचारीहरुले बताउने गरेका छन् भने चौंलागाईले भने आफ्नो अरबौंको जग्गा खाने उद्देश्यले बैंकले आफ्ेना जग्गा लिलामीमा निकालेको बताउँदै हिँड्ने गरेका छन् ।

सीईओ शेरचनले व्यक्तिगत स्वार्थका लागि मनपरी ढंगले गलत कम्पनीमाथि लगानी गर्दा बैंकको खराब कर्जा निकै बढेको छ । प्रभु बैंकको एनपीएल गत आर्थिक वर्षमा १ दशमलव २१ प्रतिशत रहेकोमा अहिले बढेर ३ दशमलव ४८ प्रतिशत पुगेको हो । यो प्रतिशत तुलनात्मक हिसावले हेर्दा झण्डै दोब्बरले बढी हो । त्यस्तै बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ । त्यसो त अशोक शेरचनलाई उनको मनपरीमा लगाम लगाउने कोही देखिँदैन किनकि प्रभु गु्रपका अध्यक्ष तथा सांसद देवीप्रकाश भट्टचननै उनका संरक्षक हुन् । बैंक तथा वित्तीय संस्थाका नियामक निकाय नेपाल राष्ट्र बैंकसमेत शेरचनको प्रभावमा परेको छ । उनका गलत क्रियाकलापका विषयमा पटकपटक गुनासो र उजुरीनै पर्दा समेत मुकदर्शक बनेर उल्टो प्रोत्साहित गरिरहेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकमा २०७६ साल १२ गते पुगेको उजुरी उपर राष्ट्र बैंकले आजसम्म पनि कुनै कारबाही अगाडी बढाएको छैन, उल्टै शेरचनका विरुद्धमा परेको उजुरीका सम्वन्धमा सञ्चालक समितिसँग जवाफ माग्नुपर्नेमा उल्टै उनैसँग स्पष्टिकरण सोधियो र घटनालाई सामसुम पार्ने काम गरियो । राष्ट्र बैंकबाट बैंक सुपरिवेक्षणमा जाँदा समेत यी कुराहरुलाई औंल्याइएको देखिँदैन । राष्ट्र बैंकमा परेको उक्त उजुरीमा बैंकका उच्च पदस्थ कर्मचारीको खातामा गैरकानूनी र असाधारण तरिकाबाट जम्मा हुन आएकोले छानबिन गर्न माग गरिएको छ । तर हालसम्म पनि शेरचनकै प्रभावमा परेर राष्ट्र बैंकले उक्त खाताको अनुसन्धान नगरेको बैंककै कर्मचारीहरुको गुनासो छ ।

राष्ट्र बैंकमात्र होइन केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीसम्म शेरचनको प्रभावमा परेको छ । उनका गैरकानूनी हर्कत र वित्तीय अपराधका सम्वन्धमा परेको उजुरीमाथि आवश्यक छानबिन गरेर कारबाही अगाडि बढाउनुपर्नेमा उल्टै स्वार्थ बाझिने गरी सोही बैंकका सीइओ शेरचनकै हातबाट प्रहरी कल्याण कोषका नाममा रकम लिएपछि अन्ततः घटना सामसुम पारिएको छ । राष्ट्र बैंक सीआइबी मात्र होइन शेरचनको प्रभावमा मूलधारका सञ्चारमाध्यम समेत यतिबेला मौन छन् ।

सम्बन्धित समाचार