काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताएका छन्। बिहीबार काठमाडौँ महानगरपालिका–३१ का सभापति स्वर्गीय उज्वल कोइरालाको शोकसभामा आयोजित कार्यक्रममा बोल्दै उनले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताएका हुन् ।
'राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो,' उनले भने। पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो। नेता सिंहले वर्तमान सरकार संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हिँडेको उल्लेख गरे ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल काँग्रेस विधि र विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताए।पूर्वउद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाए ।
काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेलगायतले स्वर्गीय कोइरालाको राजनीतिमाथि चर्चा गरेका थिए ।