बिरगंज । देशमा यतिबेला आर्थिक अवस्था जरजर छ । कुनै पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व उठाउन सकेको छैन । यसको पछाडिको प्रमुख कारण नै सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नै हो । सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी सुरक्षाकर्मीको मिलिभगत र संरक्षण नभइ सम्भव पनि छैन । जबसम्म सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको मिलिमतोमा तस्करी धन्दा चलिरहन्छ तबसम्म सरकारले चाहेको भन्सार राजश्व उठ्न सक्ने अवस्था छैन ।
अहिले पर्साको अलौ सिर्सिया र अमरपट्टी नाकाबाट दिउँसोको समयमा खुलेयाम तस्करी भैरहेको छ ।हाम्रा बिरगंज स्थित संवाददाताले स्थलगत निरीक्षण गर्दा यो थाहा भयो कि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ र संरक्षणमा यी नाकाबाट व्यापक तस्करी भैरहेको छ । दिउँसो १० बजेदेखि नै ट्याक्टरबाट ठूलो मात्रामा भारतीय क्षेत्रबाट गहुँको तस्करी भैरहेको जो कोहीले देख्न सक्दछ। दर्जनौं ट्याक्टरमा भारतीय गहुँ भन्सार नतिरी खुलेयाम तस्करी गरि नेपाल भित्रिरहेको छ। यस तस्करीको सम्बन्धमा नेपाल प्रहरीको अमरपट्टी चौकीका सई हरि चौहान र अलौ सिर्सियाचौकीका वरिष्ठ सई कुल बहादुर कुंवरसंग सम्पर्क गर्दा दुबै जनाले फोन नउठाएको हाम्रा स्थानीय संवाददाता मुर्तुजा मियाँ तेलीले जानकारी दिएका छन् ।