ठिङ्गनमा यसरी हुन्छ बर्दीमा असुली

17.5k Shares

हेटौंडा  । मकवानपुर  र ललितपुरको सीमावर्ती क्षेत्रमा ठिङ्गन भन्ने ठाउँ  छ । मकवानपुरको बकैया गाउँ पालिकास्थित काठमाडौ उपत्यका जोड्ने  पुरानो सडक कान्तिलोक पथ र ललितपुरको सीमानामा पर्छ यो ठिङ्गन । यो कान्तिलोकपथको प्रमुख चेकपोस्ट पनि हो । अहिले यही चेकपोस्ट भएको फाइदा ठिङ्गन इलाका प्रहरी कार्यालयका निरीक्षक लक्ष्मण गिरी र उनले परिचालन गरेका घुमुवा सहायक हवल्दार मिथलेश साहले उठाई रहेका छन् । यो इप्रकाको क्षेत्र ग्रामीण त पर्छ नै काकडभिट्टादेखि पर्सासम्मबाट हुने अबैध तस्करीका सामान पनि यसै  सडकबाट आउ जाउ हुने गर्दछ । तस्करीका धेरै सामान यही बाटो हँुदै काठमाडौ भित्रिने गर्दछ । त्यस्ता तस्करीको सामान ल्याउने र कतिपय भन्सार तिरेर ल्याएका सामान बोक्ने गाडीका चालकहरूलाई अनावश्यक दुःख र हैरानी दिई घुमुवा मिथलेश साहले रकम उठाउने गरेका छन् । केही दिन अघि मात्रै दुई वटा मालवाहक ट्रक  दिनभरि रोकेर  अन्त्यमा कुनै बिल नभएको सामान ल्याए पनि मासिक २५ हजार दिए चेकजाँच नगर्ने शर्तमा  केही रकम लिएर छोडेको उजुरी बागमती प्रदेश प्रहरी कार्यालयमा परेपनि कुनै छानबिन भएन । त्यसैले यहाँबाट यसरी असुली गरेको रकम प्रदेश प्रहरी कार्यालयसम्म पुगेको आंशका रहेको एक जुनियर प्रहरी अधिकृतले जानकारी गराएका छन् ।

त्यति मात्रै होइन घुमुवा साहले एउटा मालबाहक गाडीलाई त दुई दिनसम्म रोकेर  महिनावारी रकम दिए मात्रै छाडिदिने भनेपछि अन्त्यमा टिप सिस्टमको दरले दुई हजारमा कुरा मिलेपछि छाडेका थिए । उनले हाकिमको नाममा र आंफुलाई भनेर छुट्टाछुट्टै रकम लिने गरेको समेत व्यवसायीहरू बताउँछन् ।

यसबाहेक स्थानीय उत्पादन गलैंचा, धान, कटुस, तरकारी, रांगाभैसी, खसिबोका, बाख्रा  यताउता लैजाने क्रममा पनि बिल मागेर दुःख दिने र हैरानी गर्ने गरेको स्थानीय बताउँछन् । हुँदाहँुदै  आफ्नो धर्म र  संस्कृति अनुसार कोशेलीपातको रूपमा १÷२ लिटर घरेलु रक्सी समेत खोसेर अभद्र व्यवहार गरि नष्ट गरिदिने काम समेत घुमुवा प्रहरी मिथलेशले गर्दै आएको स्थानीय बासिन्दाले खोजतलाससँग गुनासो पोखेका छन् । यसरी ठिङ्गनमा प्रहरी निरीक्षक गिरी र उनका घुमुवा साहको असुली आंतक चलेको र उनीहरू बिरूद्व हेटौंडा स्थित प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा कहाँ उजुरी र गुनासो पुग्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय स्थानीयका गुनासो छ । उनीहरू भन्छन्, तस्करीको सामान त पक्राउ गरेर राजश्व बुझाउने कि घुष खाएर छोड्ने, अनि हामीले खसी बेचेको बिल खोज्ने, मानिस मरेको ठाउँमा सगुन लिएर गएको रक्सी पोखिदिने ?

सम्बन्धित समाचार