चीनमा बटन थिच्ने नेपालमा बसेर ताली बजाउने । सगरमाथाको उचाई घोषणा गर्दाको दृश्य हो यो । मङ्गलबार उचाई घोषणा गर्दा संयुक्त घोषणा भनिएपनि बटन भने चीनका अधिकारीहरूले थिचे । चीनका विदेशमन्त्री वाङ यीसहितका अधिकारीहरू बटन थिच्न अगाडि सर्दा हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उठेका थिए । उताबाट उनले बटन थिचे, यता मन्त्री ज्ञवालीले ताली बजाए । यसरी सगरमाथाको उचाईको संयुक्त घोषणा भयो । घोषणा गर्ने सम्झौता चीनका राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमणमा आउँदा गतवर्ष सम्झौता भएको हो ।
नेपालले यसअघि आफ्नै तरिकाले सगरमाथाको उचाई राखेको थियो । यसपटक चीनलाई संलग्न गराएपछि अन्तर्राष्ट्रिय चासो बढेको छ । यसै पनि ओली सरकारलाई चीनसँग ढल्केको आरोपहरू लाग्दै आएको छ । पछिल्लो घटनाले यसलाई अझ बल पुगेको छ ।
सगरमाथाको उचाई यसअघि ८८४८ मिटर थियो । यसपटक यसको उचाई ८६ सेन्टिमिटर बढेको देखियो । तर, कसरी बढ्यो सगरमाथाको उचाई ? यसअघि चीनले सगरमाथाको उचाई मापन गरी ८८४४.४३ मिटर मान्दै आएको थियो । जुन नेपालको तुलनामा ३ मिटर ५७ सेन्टिमिटर कम थियो । चीनले सगरमाथाको चट्टानको उचाई जति छ त्यति मान्नुपर्ने तर्क गरेको थियो । नेपालले भने हिउँको समेत उचाईलाई मानेर मापन गर्नुपर्ने भन्दै आएको थियो । चीनले आफ्नो तर्फको यलो सी समुन्द्रलाई आधार मानेर मापन गरेको थियो । नेपालले बँगालको खाडीलाई आधार मानेर उचाई मापन गरेको थियो । यसपटक उचाईबारे सहमति निस्कियो ।
इन्डियन र युरोसियन टेक्टोनिक प्लेट एक अर्कामा ठक्कर खाँदा सगरमाथा बनेको मानिन्छ । यो ६ करोड वर्ष पुरानो मानिन्छ । यसको उचाई प्रत्येक वर्ष आधा मिटर बढ्नेगरेको वैज्ञानिकहरूले जनाएका छन् ।
दुवै पक्षले यसपटक सगरमाथाको उचाई मापन गरेका थिए । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा संयुक्त रुपमा उचाई घोषणा गर्ने सहमति बनेको थियो । यसअघिको उचाई सर्वे अफ इन्डियाले गरेको सन् १९५४ को मापन हो । पहिलोपटक नेपाल आफैले उचाई मापन गरेको हो । यसका लागि दुई वर्ष समय लाग्यो । २०७२ सालको महाभूकम्पले सगरमाथाको उचाईमा पनि फरक ल्याएको बताइयो । ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले सगरमाथा चढ्न गएका १८ जनाको समेत मृत्यु भएको थियो । यसबाट पनि त्यहाँ ठुलै कम्पन आएको बुझ्न सकिन्छ । भूगर्भविदहरूले टेक्टोनिक प्लेट हल्लदा सगरमाथाको उचाई हरेक वर्ष बढ्ने गरेको बताउँदै आएका छन् ।