कोरोना मात्रै भनेर हुदैन, अब मैदानमा उत्रनु पर्छ : दीपक बिष्ट, प्रशिक्षक तेक्वान्दो

19.9k Shares

संसार नै कोरोना महामारीको संक्रमणको चपेटामा परेका बेला नेपालमा पनि यसको असर पर्नु स्वभाविक नै हो । संसारका ठूला ठूला क्षेत्र आर्थिकरूपमा डामाडोल भइरहेका अवस्थामा खेलकुद क्षेत्रलाई पनि यसले अछुतो छाड्ने कुरा भएन । यो क्षेत्रको गतिविधि अहिले धेरै नै तल झरेको छ । ठूला ठूला लिगहरू स्थगित भएका छन् । ओलम्पिक खेल स्थगित भयो । तेक्वान्दोको वल्र्ड च्याम्पियनसिप स¥यो । कोरोना भाइरसले सबै क्षेत्रलाई तहस नहस गरिसकेको छ । खेल क्षेत्रलाई पनि यसले तहस नहस पारेको छ । तर विस्तारै ओभर कम हुने क्रम सुरु भएको छ । च्याम्पियन्स लिगसहित अन्य फुटबलका प्रतियोगिताहरू विस्तारै सुरु हुन थालेका छन् । कोरोनाकै बीचमा पनि खेल क्षेत्रलाई कसरी लैजाने भन्ने बसह सुरु भइसकेको छ । लामो अवधि भइसकेकाले यत्तिकै छाडेर (चुप लागेर) बस्ने अवस्था पनि छैन । यसलाई कसरी लग्ने भन्नेमा हामी खेलडी–प्रशिक्षकले छलफल गरिरहेका छौं ।

दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) जितिसके पछि हामी कोरोनाको चपेटामा प¥यौं । म यस पटकको प्रतियोगितामा प्रशिक्षक थिए । सागमा हाम्रो तेक्वान्दोले सबैभन्दा धेरै मेडल जितेको हो ।  तेक्वान्दोले १२ स्वर्ण, ६ रजत तथा ११ कास्य पदक जितेको हो । साग सकिएपछि ओलम्पिक तथा वल्र्ड च्याम्पियन्सको तयारी गर्ने हाम्रो योजना थियो । खेलाडीहरू पनि एक दमै फर्ममा थिए । कोरोना देखिएपछि सबै खेलाडी घरमै बस्नु पर्ने बाध्यता बन्यो ।

साग प्रतियोगितामा खेलाडीको पर्फमेन्स टप लेबलमा पुगेको थियो, घर क्यारेन्टिनमा बस्दा त्यो पर्फमेन्स स्वात्तै घट्यो । घर क्वारेन्टिनमा बस्न बाध्य खेलाडीमा मानसिक तनाव देखियो । कहाँ प्रशिक्षण गर्नु, कहाँ के गर्नु भन्ने तनाव रह्यो । घरमा बसि बसि आफ्नो मन खुसीले प्रशिक्षण गरेपछि पर्फमेन्स अवश्य नै घट्ने नै भयो । तर पनि यो बीचमा हामीले भर्चुअल तालिम गरायौं ।

खेलाडीको स्वस्थ्य स्थिति पनि बुझ्यौं । प्रशिक्षकको नाताले मैले खेलाडी को कहाँ छ, कस्तो अवस्थामा छ बुझें । सबै बुझेपछि भर्चुअल ट्रेनिङ पनि गराएँ । म आर्मीको पनि राष्ट्रिय कोच भएकाले आर्मीका खेलाडीलाई पनि ट्रेनिङ गराएँ । हामी आफैं श्रीमती आयशा शाक्य, छोरा र म पनि घरको बैठक कोठामा म्याट लगाएर प्रशिक्षण ग¥यौं । घरको बैठक कोठालाई हामीले तीन महिना ट्रेनिङ सेन्टर नै बनायौ । त्यहाँ म, आशाया र ७ वर्ष पुग्नै लागेको छोरा तीनै जनाले ट्रेनिङ ग¥यौं । अहिले पनि हामी त्यही (बैठक कोठामै) नै ट्रेनिङ गरिरहेका छौं ।

कोरोनाले जति तहस नहस गरे पनि यसलाई हामीले व्यक्तिगतरूपमा कसरी फाइदा उठाउन सकिन्छ भन्नेतर्फ सोचेर गतिविधि बढायौं । यो तीन महिनाको अवधिमा मैले भान्छाको काम पनि सिकेँ । छोराहरूलाई टाइम दिन पाए । छोराहरूलाई टाइम दिन नपाएको धेरै भएको थियो । खेलाडी तथा प्रशिक्षक भएपछि हिँडेको छ हिँडेको छ, उनीहरूलाई समय दिन पाइरहेको थिइन । अठार महिना, २ वर्षका बच्चालाई छाडेर हिँड्दा हामी दुईलाई पनि पीडा भएको थियो । अहिले उनीहरूसँगै बसेर पहिलेको पीडा बिर्साउने प्रयास गरेको छु । उनीहरू पनि खुसी छन् ।
कोरोना महामारीबाट बच्न सरकारले घरमा बस्न गरेको आग्रह, मानिस–मानिसबीचको दूरी कायम गर्न गरेका आग्रह तथा स्वस्थ्यसम्बन्धी सम्पूर्ण नियमहरू हामीले पालना ग¥यौं । यो बीचमा मिडियामा पनि खेलाडीका कुरा ग¥यौं । लकडाउनकै बीचमा सरकारले सागमा पदक बिजेता खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार राशीको रकम पनि आयो । त्यो रकमबाट हामीले अनाथलय, अन्धा तथा मानव सेवा आश्रममा आश्रितका लागि राहत वितरण गर्न सक्यौं । यसरी हामीले यो अवधिलाई क्यालिटी क्वारेन्टाइनका रूपमा रूपान्तरण ग¥यौं । अब यो अवस्थाबाट ओभरकम हुनुपर्छ । खेलकुद क्षेत्र अघि आउनु पर्छ ।

जसरी अरु देशमा खेलकुदका गतिविधि अघि बढ्न थालेका छन् त्यसैगरी हाम्रो देशमा पनि खेल क्षेत्रले विस्तारै पाइला अघि बढाउनु पर्छ । अब चुप लागेर बस्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । हाम्रो ट्रेनिङ हल छ, तेक्वान्दोको त्यत्रो हल छ, सरकारले घरलाई स्यानिटाइज गर्ने, खेलाडीलाई स्यानिटाइज गर्ने, ट्रेनिङमा आउने खेलाडीले निश्चित सुरक्षा सतर्ककता अपनाउने, चिकित्सकसँग परामर्श गर्ने जस्ता पक्षमा ध्यान दिनुपर्छ । तेक्वान्दो खेलाडी–प्रशिक्षकको नाताबाट मैले यसका लागि प्रयास गरेका छु । यो कार्य अलि खर्चिलो हुन्छ । घरलाई नै स्यानिटाइज गर्नुपर्ने हुन्छ, खेलाडी कति जना राख्ने भन्ने हुन्छ । खेलाडीलाई होटलमा राख्ने कि बाहिर राख्ने भन्ने हुन्छ । खेलाडीलाई टे«निक सेन्टरसम्म कसरीले ल्याउने–लैजाने जस्ता कुरामा खर्च हुन्छ । कोरोनाबाट बचेर मात्रै खेलाडीको प्रशिक्षण सम्भव हुन्छ । विदेशतिर त्यो खालको संयन्त्र छ, यस्ता सुरक्षात्मक प्रावधान अपनाएर विस्तारै खेलकुद प्रतियोगिता सुरु भएका छन् । कोरोना सुरुवात भएको चीनको वुहानमा खेलाडीहरूको ट्रेनिङ सुरु भइसकेको छ । साथीभाईले ट्रेनिङ सुरु भइसकेको भिडियो पठाइरहनु भएको छ । त्यहाँको ट्रेनिङ हलहरू स्यानिटाइज गरिएको छ, खेलाडीलाई स्यानिटाइज गरिएको छ । खेलाडीलाई युनिभर्सिटीमा राखिएको छ, त्यहाँबाट बाहिर जान दिइएको छैन । बाहिर गए पनि उनीहरूलाई त्यही अनुसारको चेकअप तथा ट्रिटमेन्टको सुविधा उपलब्ध गराइएको छ । त्यो संयन्त्र हामी कहाँ पनि बनाउन सके मात्रै ट्रेनिङ सुरु गर्न सकिन्छ । त्यो भए मात्रै  हामी कोरोना सँगसँगै अघि बढ्न सक्छौं ।

कोराना महामारी रोकिएपछि मात्रै अघि बढ्छु भन्ने हो भने खेल क्षेत्र निक्कै पछि पर्छ । कोरोना कहिले सकिन्छ भन्ने ठेगान पनि छैन । नेपालमै पनि अहिले सरकारी कार्यालयहरू खुलिसकेका छन्, हामी पनि घरमा बस्दा बस्दा दिक्क भइसकेका छौैं, हामी बाहिर निस्कन चाहन्छौं । २०–३० वर्षदेखि खेलेको हुनाले घर भित्रैको ट्रेनिङले मात्रै पुग्दैन । एक खालको उकुस मुकुस भइसकेको छ । यो वातावरणबाट खेलाडीलाई बाहिर ल्याउन खेलकुद क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेका खेलकुद परिषद्, खेलकुद मन्त्रालयले भूमिका खेलिदियोस् भन्ने हाम्रो चाहना हो । सरकारी अधिकारीहरूसँग खेल क्षेत्रलाई अघि बढाउने विषयमा कुराकानी भइरहेको छ ।

कोरोना महामारीको अहिलेको अवस्थामा हामी विस्तारै अघि बढ्नु पर्छ । सबै मानिस बाहिर निस्कन मानसिक रूपमा तयार भइसकेका छैनन् । मानिसहरू डर त्रासमै बाँचिरहेका छन् । मान्छेले मान्छेसँग भेट्दा, हात मिलाउँदा डराउनु पर्ने अवस्था छ । भेट्दा पनि सामाजिक दूरी कायम गर्नु पर्ने अवस्था छँदैछ । खेलाडीलाई तयारी गर्न सरकारले त्यो खालको वातावरण बनाइदिनुपर्छ । अरु देशले छिटो छिटो यस्ता गतिविधि अघि बढाइरहेका छन् ।

खेलाडीले पूर्ववतः रूपमा आफ्नो पर्फमेन्स देखाउन डबल–तेब्बर मिहिनेत गर्नै पर्छ । हामी पनि पुरानै अवस्थामा फर्कनका लागि छोटो समयमा धेरै मिहिनेत गर्नैपर्छ । यसो त हामी खेल क्षेत्रमा अरू देशको तुलनामा कमजोर नै हौं । कमजोरै भएपनि हामीले पदक जितेर राष्ट्रको नाम राखेकै छौ । आगामी प्रतितियोगिताहरूमा पनि राष्ट्रको नाम उँचो राख्न खेलाडीलाई सरकारले वातावरण बनाइदिनु पर्छ । वातावरण बनाइदिए मात्रै हामी छिट्टै ओभरकम गर्न सक्छौं । खेलाडीमा मानसिक तनाव रहेका बेला ओभरकम हुन गाह्रो हुन्छ । पहिलाको जस्तो असावधानीले अब गाह्रो हुन्छ । खेलाडीलाई खेलायो, खेल सकिएपछि ल घर जा भनेर भन्न सक्ने अवस्था रहँदैन । हिजोको जस्तो अवस्था रहेन अहिले ट्रेनिङबाट निस्केपछि कता जान्छ, के खान्छ, कति मानिसलाई भेट्छ, कति बेला घर पुग्छ थाहा हुँदैन, भोलिपल्ट कहाँबाट कोरोना सारेर आउँछ पत्तो हुँदैन । हामी कहाँ त्यो मेकानिजम छैन ।

त्यसैले यी सबै कुराहरूलाई हेरेर हामीले एन्टी कोभिड मेकानिजम बनाउनै पर्छ । संसारमा यस्ता महामारी धेरै चोटि आइसकेका छन्, त्यति बेला ओभर कम भएकै हो, कोरोनाबाट ओभर कम नहुने कुरै हुँदैन । कसले कति चाँडो र कसले कति ढिला गर्छ भन्ने मात्रै हो । हामी भगवान भरोसेको देश भएकाले पनि सबै कुरा सिस्टममा चलेका देशको तुलनामा ओभर कम हुन धेरै समय लाग्न सक्छ । अर्काको भर पर्दा समय बढी लाग्न सक्छ । तथापि हामीले विस्तारै तयारी गर्नुपर्छ । अहिले कोरोना महामारीको रूपमा देखियो, अर्को दिन अर्कौ महामारी आउन सक्छ । त्यसका लागि हामी तयार हुनुपर्छ । सतर्क भएरै खेल गतिविधि सुरु गर्नुपर्छ । अहिले पनि सरकारले माक्स लगाउन गरेको आग्रह, स्यानिटाइज प्रयोग गर्न तथा सावुन पानीले हात धुन तथा सामाजिक दूरी कायम गर्न गरेको आग्रह पूर्णरूपमा पालना गर्नुप¥यो । पुरानै तालमा हिँड्यो भने धेरै गाह्रो हुन्छ । अहिले हामी धेरै सतर्क भएर अघि बढ्नु पर्छ ।

सबै भन्दा पहिला हामीले आफूलाई नियम कानुन पाल्ने कुरामा आफूलाई झार्नु पर्छ । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले यी विषयमा ध्यान दिए खेलाडीलाई प्रशिक्षणमा उतार्न सजिलो हुन्थ्यो । खेल क्षेत्रका यी दुई महत्वपूर्ण निकाय अलि बढी नै चिन्तित हुनुपर्छ ।

कोरोना महामारीकै बीचमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खेलकुद क्षेत्र अपरिहार्य विषय भनिसकेको छ । उसले बारम्बार भन्दै आएको छ एक घन्टा तालिम गर, योगा गर तिम्रो इम्युनिटी पावर बढ्छ । खेलका गतिविधिमा सबैले सहभागी भए इम्युनिटी पावर बढ्ने उसको तर्क छ । इम्युनिटी पावर राम्रो भएको व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिने संभावना धेरै न्यून रहन्छ । यो मान्यतालाई खेलकुद मन्त्रालय तथा खेलकुद परिषद्बाट सम्बोधन हुनुपर्छ । तर यी दुई निकायबाट खेल क्षेत्रलाई सम्बोधन गर्ने गरी कुनै निर्देशन आएको छैन । खेल क्षेत्रलाई पहिलेदेखिनै नेग्लेटेड क्षेत्रका रूपमा लिने प्रचलन हामी कहाँ थियो, त्यो अहिले पनि छँदैछ । खेलकुद भनेको बिग्रेकोले खेल्ने, मनोरञ्जनका लागि खेल्ने भन्ने थियो, अहिले पनि लगभग यस्तै दृष्टिकोण छ । तर पछिल्लो चरण विद्यालय, कलेज, विश्वविद्यायय तहको शिक्षामा खेलकुदलाई अनिवार्य जस्तै बनाइएको छ । नागरिकलाई स्वस्थ्य बनाउन अस्पताल होइन, खेलकुदलाई अघि बढाउनुपर्छ भन्ने कुरा मानिसहरूले बुझेनन्, राम्रो पढ्नका लागि मानिस स्वस्थ्य हुनुपर्छ । खेलकुद शिक्षा तथा स्वस्थ्यसँग सँगसँगै लैजाने विषय हो, तर नबुझेरै यति राम्रो विषय तिरस्कृत भइरहेको छ । अहिले त झन खेलकुद क्षेत्रको बजेट नै घटाइएको अवस्था छ ।

खेलकुदलाई लगानी भन्ने वित्तिकै खेलकुद परिषद्लाई लगानी भन्ने सोचबाट सरकारमा रहेका मानिसहरू बाहिर निस्कनु पर्छ । यो लगानी जनताको स्वस्थ्यका लागि भन्ने हुनुप¥यो । विकसित देशमा ५० घरको बीचमा एउटा खेल्ने ठाउँ हुन्छ, दौडने ठाउँ हुन्छ । त्यो भनेको खेलकुद क्षेत्र माथिको राज्यको लगानी हो । हाम्रोमा पनि त्यो खालको मेकानिजम बनाउनु पर्छ । हरेक वडामा एउटा खेल मैदान हुनुपर्छ । संसद् भवन भित्र जिम हल खोल्नु भनेको राम्रो कुरा हो । सांसदले मात्रै होइन हरेक नेपालीलाई जिमको एक्सेस दिइनुपर्छ । कोभिड–१९ जस्ता हरेक प्रकारका महामारीबाट बच्च इम्युनिटी पावर बढाउन नै जिम तथा खेल मैदानहरूको विकास गरिनु पर्छ ।

सबै नेपाली नागरिकको इम्युनिटी पावर बढाउन सक्यो भने यस्ता महामारीबाट सहजै पार पाउन सकिन्छ । खेल संस्कृति विकास गर्नुपर्छ । लकडाउनको बेला सडक खाली देखेपछि सबै मानिस सडकमा हिँड्न निस्किए । हामी हिजो ननिस्केको त हामीसँग खाली ठाउँ नभएर पो रहेछ । यो वातावरण सरकारले बनाउनुपर्छ । खेलकुदमा लगानी भन्नासाथ नेशनल टिम, प्लेयर माथिको लगानी मात्रै होइनकी सबै नागरिक तहमा लगानी भन्ने रुपमा सरकारी मानिसहरूले बुझ्नु पर्छ । खेल संस्कृतिको विकास नहुँदा खेलाडीलाई प्रतियोगिता आउँदामात्रै सम्झिने गरेको देखिन्छ । मेडल ल्याउने खेलाडी, खेलकुद परिषद्मा रहेका केही खेलाडीलाई मात्रै राज्यले सम्झने प्रवृतिको अन्त्य हुनुपर्छ । स्कुल, कलेज तहदेखि नै अनिवार्य भएर अघि बढनुपर्छ । खेलकुद भनेकै मेडलका लागि, विदेशमा देशको प्रतिनिधित्व गरेर झण्डा बोक्ने हिसाबमा मात्रै हेरिनु भएन ।

राज्यको उच्च पदमा बसेका मानिसहरूले खेलकुदलाई नबुझेको जस्तो देखिए पनि देशको प्रतिनिधित्व गरेर मैदानमा खेल्न उत्रँदा खेलाडीले मनमा मैले देशको प्रतिनिधित्व गरेको छु । यो भिडन्त देश देशबीचको हो भनेर लिने गर्दछ । खेल प्रतियोगिामा स्वर्ण पदक जित्दा, ओलम्पिकमा देशको झण्डा बोकेर सहभागि हुँदाको खेलाडीको मनमा आउने खुसीको क्षण खेलाडीलाई मात्रै थाहा हुन्छ । मेडल जित्दा देशको राष्ट्रिय गान बजाइन्छ त्यो क्षणको खुसी वयान नै गर्न सकिने हुँदैन ।

खेलाडी खेल मैदानमा उत्रँदा मैले जसरी पनि जित्नुपर्छ, त्यो जित देशका लागि हुन्छ भन्ने मनस्थितिमा हुन्छ । नेपाल भनेर खेलाडी खेल मैदानमा जाने हो । व्यक्ति भएर जाने होइन । म हारे भने देशै हार्छ, जित्दा देशले जित्छ भन्ने हुन्छ । जित्दा आनन्द आउँछ । खुट्टा भाँचिदा पनि पाकिस्तानमा मैले पदक जितेको त्यही कारणले नै हो । मसँग तीन करोड नेपालीको आशा थियो । खुट्टा दुख्यो भने मानिस हिँड्न त अल्छि मान्छ मेडल जित्ने कुरा सम्भव होइन । त्यो कसरी संभव भयो भने ममा सारा नेपालीको आशा छ । त्यो भएर नै मेडल जितेको हुँ । यो एडिक्सनले गर्दा नै हामीले खेलकुद क्षेत्रलाई छाड्नै सक्दैनौ । खेलकुद क्षेत्रमा लाग्न प्रोत्साहन हुने नीति नियम पनि आउला भन्ने आशा गरेको छु ।

प्रशिक्षक भन्दा खेलाडी हुँदा नै सजिलो रहेछ । खेलाडीले आफूलाई आफ्नो तरिकाले खेल्यो, जित्यो उसको भूमिका सकियो, तर कोचले सबै खेलाडीलाई बराबरी ढंगले हेनुप¥यो । एउटा खेलाडी हा¥यो कोचलाई दोष हुन्छ । खेलाडी जित्यो कोचलाई धन्यावाद हुँदैन । यो भन्दा अघिको साफ गेममा हामीले मेडल जितेनांै, त्यति बेला ट्रेनरको रुपमा गएको थिए । मुख्य प्रशिक्षकको भूमिकामा अरु नै हुनुहुन्थ्यो । मेडल नलाउँदा दीपक बिष्टले के हे¥यो भनेको सुने । अहिलेकाले सागमा सबै भन्दा धेरै तेक्वान्दोलेनै मेडल जित्दा खेलाडीको मात्रै नाम आयो । कोचको नाम आएन ।

सम्बन्धित समाचार