काठमाडौं, २२ जेठ । यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।
पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ । पुल निर्माण तीनै तहबाट हुने भए पनि छुट्टाछुट्टै नभएर आपसी समन्वयमा हुने गरेको विभागको भनाइ छ ।
गत वर्षसम्म विभागले देशभरका तुइन विस्थापित गर्न प्राथमिकता दिएको थियो । अब तुइन हटाउनका लागि झोलुङ्गे पुल बनाउनुपर्ने भएको उनले जानकारी दिए ।
उपमहानिर्देशक साहले भने, “ पहिले पहिचान भएका सबै तुइनका ठाउँमा झोलुङ्गे पुल बनाइसकिएको छ ।” विभागले खासगरी ग्रामीण भेगका नागरिकलाई नदी वारपार गर्न सजिलो होस् भनी पुल निर्माण गर्दै आएको छ । झोलुङ्गे पुल बनेको केही वर्षभित्रै सडक पुल बन्ने ठाउँभन्दा पनि अझै केही वर्ष नबन्ने देखिएको स्थानलाई प्राथमिकतामा राखिएको विभागले बताउँदै आएको छ ।
चार पाँच वर्षमा नै त्यहाँ मोटर गुड्ने पुल बनाइने स्थानमा झोलुङ्गे पुलको औचित्य नभएको उपमहानिर्देशक साहले बताए । चालु आव र आगामी आवमा पनि अब तराईमा झोलुङ्गे पुलको योजना कम रहेको छ । काठमाडौँ उपत्यकामा भने त्यस्तो योजना नै छैन ।