काठमाडौं । वैदेशिक रोजगारीबाट आउने रकम देशको अर्थतन्त्रको मुख्य हिस्सा बनिरहेको छ ।
तर, विदेश जानेहरु ठगीको मारमा पर्ने गरेका छन् । एकातर्फ बेरोजगारीको समस्याले विदेशिनुपर्ने वाध्यता अर्कोतर्फ पाइलैपिच्छे ठगहरुको बिगबिगी । त्यसो त सरकारले श्रमिक पठाउने निश्चित अनुमतिका लागि नियम नै बनाएको छ तर विचौलियाहरु हावी हुँदा ठगीका घटना धेरै घट्दै आएका छन् ।
वास्तवमा वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनी बाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम छ ।
तर सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी भने बर्सेनि बढ्न थालेका छन् । वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानुनी एजेन्ट र बिचौलियाहरुले रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा झण्डै ७६ करोड ठगी गरेको तथ्यांक छ । वैदेशिक रोजगार विभागमा चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएका ९ सय २५ उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रकम ठगी गरेको अभियोग दर्ता छ ।
अघिल्लो वर्षको तुलना चालु आवमा ठगी भएका उजुरीहरू बढेको छ । हरेक वर्ष ठगीको उजुरी बढ्दो छ । वैशाख महिनामा मात्रै ठगीको १०४ वटा उजुरी परेको छ । ती उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०० रकम दाबी गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार चार सय १७ ठगी भएको तथ्यांक छ । चालु आर्थिक वर्षको दश महिनामा परेका ९२५ उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको र १७६ बिचौलियालाई पक्राउ गरेको छ । ठगीमा संलगन विचौलिया तथा एजेन्टहरु दबाब परेपछि रकम फिर्ता गर्छन् । मिलापत्रमार्फत् एजेन्टहरूले एक सय ३५ जनालाई ९ करोड ४३ लाख ५६ हजार एक सय फिर्ता गरेका छन् । गैरकानुनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको छ । तर, कतिपय विचौलिया र एजेन्ट ठगी गरे पीडितलाई मर्कामा पार्छन् । मिलापत्र गर्दा पनि पूरा रकम फिर्ता गर्दैनन् । स्वदेशमा रोजगारीको अवसर नपाई विदेशिन वाध्यहरुलाई उल्टै विचौलियाले समस्यामा पार्ने घटना निरुत्साहित हुनुपर्छ । वैदेशिक रोजगारीमा स्वच्छता कायम गर्नु सरकारको दायित्व हो । अन्यथा यो क्षेत्र बदनाम माथि बदनाम बन्दै जानसक्छ । ठगी धन्दामा परिणत हुनसक्छ वैदेशिक रोजगारी ।