ललितपुर । नेपाली कांग्रेस खेलकुद विभागले विश्वभरि महामारी फैलिरहेको कोरोना भाइरसका कारण संक्रमितहरु बढ्दै गइरहेको अवस्थामा रगत अभाव सिर्जना हुन थालेपछि देशैभरि रक्तदान कार्यक्रमको अभियान चलाउने भएको छ ।
सोही अभियानअन्तर्गत ललितपुरको मंगलबजारबाट कात्तिक ७ गते आइतबारबाट रक्तदान जीवदान भन्ने नारासहित देशका ७७ वटै जिल्लामा रक्तदान कार्यक्रमको अभियान सुरु गरेको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मीन कृष्ण महर्जनले जानकारी गराएका छन् ।
ललितपुरको मंगलबजारबाट सुरु भएको रक्तदान कार्यक्रम नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति एवम् पूर्व माननीय मदनबहादुर अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, खेलकुद बिभाग प्रमुख तथा पुर्ब सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको विशेष उपस्थिति रहेको थियो । 
उक्त रक्तदान कार्यक्रममा ललितपुर महानगर पालिका मेयर चिरीबाबु महर्जन, उममेयर गीता सत्याल, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उप मेयर मुना अधिकारी, नेका केन्द्रीय खेलकुद विभाग सचिव मीन कृष्ण महर्जन, पूर्व सभासद तथा युवा नेता रामकृष्ण चित्रकार, नेका नेता प्रकाश नन्दन जोशी, प्रमोद शर्मा पुर्ब जिल्ला सचिब रबिन्स शर्मा, प्रेमकृष्ण महर्जन पवन थापा,ं २ नम्बर क्षेत्रीय सभापति महेश खड्का, महेन्द्र देब सि, तरुण बिभाग सदस्य राम शरण घिमिरेलगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्मरणीय छ, नेपाली कांग्रेस विभाग गठन भएसँगै यस्ता थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको छ । खेलकुद विभागले गएको तेह्रौ साग गेममा स्वर्ण पदक ल्याउने सम्पूर्ण खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरी खेलाडीहरुको आत्मबल र हौसला बढाउने काम गरेका थियो । नेपाली कांग्रेस खेलकुद विभागले कोरोना भाइरस नियन्त्रणमा आए लगत्तै यस्ता गतिविधि बढाउने क्रममा राष्ट्रियस्तरका थुप्रै खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै जाने खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले बताएका छन् । 
त्यस्तै, महर्जनले कांग्रेसका युवा, तरुण, विद्यार्थी, खेलाडी, प्रशिक्षक, शुभेच्छुकहरू तथा पार्टीका नेता कार्यकर्ताहरूले सामाजिक दायित्वअनुसार योगदान गर्नुपर्ने बताए । उनले कोरोना महामारीका बेला रगत दान गरेर बिरामीहरूको उपचारमा सहयोग गर्न देशभरि अभियान चलाएको बताए । ‘हाम्रो पनि राज्य र जनताप्रति केही दायित्व छ । सरकारले आफ्नो दायित्व पूरा गर्न सकेको छैन’, उनले भने, ‘कांग्रेस सत्तामा रहे पनि नरहेपनि जनताको सधै सेवा गर्छ ।’
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका सचिव महर्जनले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण रुपले असफल भएको बताए । उनले कोरोनाबाट भन्दा पनि सर्वसाधारणहरू अन्य रोगका साथै खान नपाएर भोकले मरिरहेको बताए । कांग्रेसको खेलकुद विभागले देशभरिका खेलाडी, प्रशिक्षक र खेलसँग सम्बन्धित सबैलाई क्रियाशील बनाउने उनले बताए ।
‘अरुले के गर्छ हामीलाई थाहा छैन’, उनले भने, ‘कांग्रेसले खेल क्षेत्रको विकासमा केही योगदान गर्छ । खेलाडी, प्रशिक्षकलगायतको आवाज कांग्रेसले बोल्छ ।’ खेलकुद विभागले देशैभरि रक्तदान कार्यक्रम गरेर खेलाडीहरू देशको नाम चिनाउने मात्रै होइनन् आवश्यक्त पर्दा जनताको जीवन बचाउन रगत दिन्छन् भन्ने सन्देश दिएको पनि सचिव महर्जनले बताए ।