शरणार्थी प्रकरणमा टोपबहादुर–बालकृष्णसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

17.2k Shares

काठमाडौं, ३ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।  बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। शरणार्थी प्रकरणमा  रायमाझी,  खाणसहितका १४ जना जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका विभिन्न हिरासतमा रहेका छन् ।  प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । 

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको छ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउँछु भनेर ठगेको आरोप लागेका नेपाली कांग्रेसका पूर्व सभासद् आङ्टावा शेर्पाले सोमबार आत्मसमर्पण गरेका थिए । मंगलबार अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले आङ्टावा शेर्पाको बयान सकिसकेको छैन । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार अनुसन्धान प्रतिवेदन अन्तिम अवस्थामा पुगेको र राय लेख्न बाँकी छ । ती अधिकृतका अनुसार आङ्टावाको बयान लिने काम र राय लेखन कार्य भइरहेको छ।

सम्बन्धित समाचार