काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि पुन: प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग मागेका छन् ।
चुनावी प्रतिबद्धता अनुसार विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनका लागि सीईओ माग गरेको रविले उल्लेख गरेका छन् । जेठ १५ गतेभित्र दरखास्त आह्वान गर्न भनिएको छ ।
‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दक्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत सीईओ भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित नेपाल भित्राउन हामी इच्छुक छौं ’, आवश्यकताको विज्ञापनमा भनिएको छ ।
चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले इमेलमार्फत सीभी पठाउन आग्रह गरिएको छ । पहिले दरखास्त आह्वान गरिसकेकाको हकमा भने नयाँ दिइरहनुनपर्ने बताइएको छ ।