काठमाडौँ — भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
काठमाडौं प्रहरी परिसरबाट भुटानी शरणार्थी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ । सुरुमा यो प्रकरण ठगीको कसुरमा अनुसन्धान अघि बढेकोमा अहिले संगठित अपराधअन्तर्गतका दफाबाट अनुसन्धान थप विस्तार भएको छ ।
यो प्रकरणमा मुछिएका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दिपसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राख्न अदालतले आइतबार अनुमति दिएको हो ।
पक्राउ पुर्जी जारी भए पनि पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज पनि फरार छन् ।