काठमाडौं । कप्तान लियोनल मेस्सी आबद्ध स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार राति समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्सलाई २-० ले हराएको हो ।
बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक-एक गोल गरे । खेलको १४औैँ मिनेटमा बार्सिलोनाका लागि डेम्बेलेले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बर्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
खेलको अतिरिक्त समयमा कप्तान मेस्सीले गोल गर्दै टिमलाई २-० गोलको जित दिलाए । शनिबार एल-क्लासिकोमा रियल मड्रिडसँग ३-१ ले पराजित भएपछि बार्सिलोना कमजोर अवस्थामा थियो ।
सोही कारण क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउले राजीनामा दिएको चर्चा सेलाउन नपाउदै बार्सिलोनाले जित निकालेको हो । आजको खेलमा युभेन्ट्सका मुख्य खेलाडी रोनाल्डो कोरोना भाइरसको संक्रमण देखिएपछि बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए । जितसँगै बार्सिलोनाले दुई खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक छ ।