एजेन्सी । किंग्स इलाभेन पन्जाबले यस सिजनको आईपीएलमा चौथौ जित निकालेको छ । मंगलबार भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै आईपीएलमा चौथो जित निकालेको हो ।
दिल्लीले दिएको १६५ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । पन्जाबको जितका लागि निकोलस पूरनले अर्धशतकीय पारी खेलेका थिए । उनले २८ बलमा ६ चौका र तीन छक्का प्रहर गर्दै ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । उनी १३औं ओभरको तेस्रो बलमा रबाडाको बलमा पन्तको हातबाट क्याच आउट हुन पुगेका थिए ।
पन्जाबले पहिलो विकेटको रुपमा कप्तान केएल राहुललाई गुमाएको थियो । तेस्रो ओभरको दोस्रो बलमा राहुल आउट हुँदा पन्जाबको मात्र १७ रन थियो । राहुलले १५ रन जोडेका थिए । त्यस्तै दोस्रो विकेटको रुपमा क्रिस गेल २९ रनमा पेभिलियन फर्किए । उनी आश्विनको बलमा बोल्ड आउट हुन पुगेका थिए । गेलले आक्रमक ब्याटिङ गर्दै मात्र १३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २९ रन जोडेका थिए ।
ग्लेन म्याक्सवेलले ३२ रनको योगदान दिए । उनले २४ बलमा तीन चौकाको मद्दतमा ३२ रनको योगदान दिएका थिए । त्यसपछि निकोलस हूडा र जेम्स निसमले पन्जाबको पारी सम्हालेका थिए । हुडा १५ रनमा अविजित रहँदा नीसम १० रनमा अविजित रहे ।
दिल्लीका लागि कागिसो रबाडाले दुई विकेट लिए । अक्सर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णया गरेको दिल्लीले शिखर धवनको शतकको मद्दतमा १६४ रन जोडेको थियो । खराव सुरुवात गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोडेको थियो ।
दिल्लीले पहिलो विकेटको रुपमा पृथ्वी शँलाई गुमाएको थियो । चौथो ओभरको दोस्रो बलमा टोलीको २५ हुँदा पृथ्वी जेम्स नीसमको बलमा म्याक्सवेलको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए । उनले सात रन जोडे । त्यस्तै दोस्रो विकेटको रुपमा कप्तान श्रेयस अय्यरले शिखर धवनसँग ४८ रनको साझेदारी गरेका थिए । १४ रनमा खेली रहेका श्रेयस नवौं ओभरको तेस्रो बलमा आउट हुन पुगे ।
एकातिर लगातार विकेट गुमाइरहेको दिल्लीका लागि अर्को तिर भने धवनले दिल्लीको पारी सम्हालेका थिए । तेस्रो विकेटको रुपमा ऋषभ पन्त १४ रनमा आउट हुँदा पाँचौ विकेटको रुपमा दिल्लीले मार्कुस स्टोइनिसलाई गुमाएको थियो ।
दिल्लीको पारी सम्हालेका धवनले १०६ रनको शतकीय पारी खेलेका थिए । उनले ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १०६ रनको अविजित शतकीय पारी खेलेका थिए । जारी सिजनको आईपीएलमा धवनको यो दोस्रो शतक हो । हेटमायरले १० रनको योगदान दिए ।
पन्जाबका लागि मोहम्मद सामीले दुई विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल, जेम्स नीसाम र मुरुगन आश्विनले समान एक एक विकेट लिए ।
जितसँगै पन्जाबले १० खेल खेल्दै चारमा जित र ६ खेलमा हार सहित ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । पराजित दिल्ली भने समान दस खेलमा १४ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ ।