वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकाशे पुल बन्ने

703 Shares

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ ।

काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गर्नुभयो । ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा निर्माण हुने पुलको काम आउँदो वर्षको कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सार्न मिल्नेगरी लिफ्ट जडान गरिनेछन् ।

अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने अहिलेको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुनेछ ।

पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्‍याङ पनि निर्माण गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार