जकार्ता- इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीले सुन खानी डुबाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना बेपत्ता भएका छन् ।
उद्धार अधिकारीहरूका अनुसार सोमबार आएको बाढीले खानीको सुरुङ डुबाएपछि कामदारहरू भित्रै फसेका थिए । बिहीबार बिहानसम्म १३ जनाको शव फेला परेको र बेपत्ताको खोजी जारी रहेको स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले जानकारी दिए।
उद्धार कार्यमा करिब १०० मिटर गहिरा साँघुरा सुरुङ, कम उज्यालो र चिप्लो भूभागका कारण कठिनाइ भइरहेको उनले बताए। उद्धारकर्मीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी कार्य जारी राखिएको उनको भनाइ छ ।
पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार बाढीले सुरुङ डुबाउनुअघि ११ जना कामदार बाहिर निस्कन सफल भएका थिए ।
अधिकारीहरूले खानीभित्र कामदार फसेको जानकारी भने मङ्गलबार मात्रै पाएका थिए । त्यसपछि उद्धार अभियान सुरु गरिएको हो ।
इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन् । विशेषगरी अवैध रूपमा सञ्चालित खानीमा सुरक्षा मापदण्डको पालना नहुँदा यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ ।