काठमाडौं । नेपाल र भारतबीच प्रायः विवादित बन्दै आएको सिमा विवाद मिलाउन परराष्ट्र सचिवलाई जिम्मा दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल—भारतबीच लामो समयदेखि विवादित रहँदै आएको सीमा समस्याबारे गम्भीर छलफल भएन । नेपालको सार्वभौमिकतासँग जोडिएका कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादबारे कुरै नउठेको भारतीय पक्षको दाबी छ ।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा ‘सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम गर्न निर्देशन दिइएको’ उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनासम्बन्धी संयुक्त स्थलगत कार्यमा भइरहेको प्रगतिप्रति दुवै नेताले सन्तुष्टि व्यक्त गरे । बाँकी रहेका सीमा समस्यामा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिए ।’
राजनीतिक नेतृत्वबीच उच्चस्तरीय समझदारीबिना कर्मचारीलाई जिम्मा दिने कुरा केवल झाराटराइ मात्र हो । त्यसमाथि विज्ञप्तिमा दुई देशबीच सीमा विवादका रूपमा रहेका क्षेत्रको नामसमेत किटान गरिएको छैन । नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेका कालापानी, लिपुलेक र लिम्पियाधुराबारे विज्ञप्तिमा उल्लेख छैन भने सुस्तालगायतका विवादित क्षेत्रको विषयमा मौनता साँधिएको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले दुई प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तामा लिपुलेकको विषय नउठेको बताएका छन् । सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो लिपुलेक हुँदै भारत–चीनबीच भइरहेको व्यापारको विषय नउठेको बताएका हुन् ।
भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले नेपालको आपत्तिका बाबजुद भारत र चीनले लिपुलेक नाकाबाट व्यापार अघि बढाउने विषयमा प्रधानमन्त्रीस्तरीय वार्तामा छलफल भयो कि भएन भनेर सोधेको प्रश्नमा मिस्रीले भने, ‘आज लिपुलेकको विषय उठेन र यसबारे दुई पक्षबीच कुनै छलफल भएन ।’
उनले लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक नाकाका रूपमा व्याख्या गर्दै लामो समयदेखि दुई देशबीच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको बताएका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नै संसदमा नेपालले पनि भारतकी जमीन मिचेको अभिव्यक्ति दिएपश्चात भारतसामु उनको ‘बार्गेनिङ पावर’ कमजोर बनेको एक परराष्ट्रविज्ञ बताउँछन् ।
‘उहाँले दह्रोसित सीमा समस्याको मुद्दा उठाउन नसक्नुमा आफ्नो त्यही अभिव्यक्ति गलपासो बनेको हुन सक्छ,’ उनले भने ।
दुई देशका नेताले अपनाएको ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिपत्रमा भने पानीका स्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासहितका सबै बाँकी विषय आपसी छलफल र संवादबाट समाधान गर्ने उल्लेख छ । यसले सीमा समस्यालाई द्विपक्षीय संवादबाटै समाधान गर्ने सहमति दोहोर्याएको छ । तर, संवाद कहिले र कुन संयन्त्रमार्फत अघि बढाउने भन्ने विषयमा संयुक्त विज्ञप्तिमा स्पष्ट कार्यतालिका दिइएको छैन ।
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद लामो समयदेखि कायम छ । सन् २०१९ मा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा यी क्षेत्र आफ्नो भूभागमा समेटेपछि विवाद थप चर्किएको थियो । त्यसपछि नेपालले कूटनीतिक विरोध जनाउँदै २०२० मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।
नेपालले यी क्षेत्र आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले आफ्नो उत्तराखण्ड राज्यको भूभाग भएको दाबी गर्दै आएको छ । यसअघि सीमा विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने सहमति भए पनि त्यसले अपेक्षित गति लिन सकेको छैन ।
प्रधानमन्त्री बन्नुअघि शाहले लिपुलेकको विषयमा सार्वजनिक रूपमा कडा धारणा राखेका थिए । काठमाडौं महानगरपालिकाको प्रमुख रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लाग्दा उनले सामाजिक सञ्जालमार्फत लिपुलेक नेपालको भूमि भएको विषय चीनसमक्ष उठाउन आग्रह गरेका थिए ।
भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमतिलाई नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै उनले तत्कालीन प्रधानमन्त्री ओलीलाई चीनसँग नेपालको दाबी स्पष्ट रूपमा राख्न आग्रह गरेका थिए । तर, अहिले प्रधानमन्त्रीकै हैसियतमा भारत भ्रमण गर्दा उनले लिपुलेकको विषय मोदीसँगको वार्तामा प्रवेश नै गराउन सकेनन् ।