बाराका दुई नाकाबाट तस्करी, एपीएफका दुई सईको संरक्षण र सेटिङमा

587 Shares

बारा । बाराका विभिन्न सीमा नाकाबाट चोरी तस्करी पुनः सक्रिय भएको छ । कवहीदेखि तेलकुवासम्मको बाटो प्रयोग गरी तस्करी भइरहेको र यसमा सशस्त्र प्रहरीका सुरक्षाकर्मीको संरक्षण तथा सेटिङ रहेको स्थानीय स्रोतले आरोप लगाएका छन् । विशेषगरी तेलकुवा र दक्षिण झिटकैया नाकाबाट अवैध कारोबार सञ्चालन भइरहेको दाबीपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको भूमिकामाथि प्रश्न उठेको छ ।स्थानीय स्रोतका अनुसार कवहीदेखि तेलकुवाको बाटो हुँदै हुने तस्करीमा तेलकुवास्थित सशस्त्र प्रहरीका सई मनोज मण्डलको संरक्षण र सेटिङ रहेको आरोप छ । उक्त नाकाबाट तस्करीको लाइन पाउनेहरूमा सञ्जय यादव, राजकिशोर यादव, सुरेन्द्र यादव, राजबली, मोहम्मद हवारी, प्रेमचन्द्र शाह, रुपेश, सोनालाल, रमेश र सनोज रहेका छन् । उनीहरूले विभिन्न सामानको अवैध ओसारपसार गर्दै आएको स्थानीय स्रोतको दाबी छ ।सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको मुख्य जिम्मेवारी नै अवैध सामानको आयात–निर्यात नियन्त्रण गर्नु र राजस्व चुहावट रोक्नु हो । तर, सुरक्षाकर्मीमाथि नै तस्करीलाई संरक्षण गरेको आरोप लाग्नुले सीमाको सुरक्षा व्यवस्थापन र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
दक्षिण झिटकैयामा पनि उस्तै अवस्था
त्यसैगरी, बाराकै दक्षिण झिटकैया नाकाबाट समेत चोरी तस्करी पुनः सक्रिय भएको स्थानीय स्रोतले जनाएको छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपीमा सई राम गणेश कुशवाहा कार्यरत रहेको र उनकै संरक्षण तथा सेटिङमा तस्करी भइरहेको आरोप लागेको छ ।दक्षिण झिटकैया नाकाबाट तस्करीको लाइन पाउनेहरूमा जोखन, बिडी, पण्डित, काशी र दीपक रहेका छन् । उनीहरूले सुरक्षा निकायसँगको मिलेमतोमा अवैध कारोबार सञ्चालन गरिरहेको स्थानीय स्रोतको दाबी छ ।तेलकुवा र दक्षिण झिटकैया दुवै नाकामा सशस्त्र प्रहरीका कर्मचारीमाथि समान प्रकृतिका आरोप सार्वजनिक हुनुले यस विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने देखिएको छ । आरोपमा उल्लेख गरिएका व्यक्तिहरूको गतिविधि, सामान ओसारपसार हुने मार्ग, सम्भावित समय र सुरक्षाकर्मीको ड्युटी विवरणसमेत अध्ययन गर्नुपर्ने आवश्यकता छ ।
सशस्त्र प्रहरीको निगरानीमाथि प्रश्न
सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले बीओपी स्थापना गरी सुरक्षाकर्मी परिचालन गरेको हुन्छ । तर, बीओपीकै जिम्मेवारीमा रहेका कर्मचारीमाथि तस्करीको संरक्षण गरेको आरोप लागेपछि सशस्त्र प्रहरी बलको मधेस प्रदेश बाहिनी र गणले आफ्नो निगरानी प्रणाली प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।अब सशस्त्र प्रहरी बलको सम्बन्धित गण तथा मधेस प्रदेश बाहिनीले तेलकुवा र दक्षिण झिटकैया नाकामा स्थलगत अनुगमन गरी आरोपको सत्यतथ्य पत्ता लगाउनुपर्ने भएको छ । आरोप प्रमाणित भए सई मनोज मण्डल र सई राम गणेश कुशवाहालगायत संलग्न जोसुकैलाई विभागीय तथा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।राज्यको राजस्व संरक्षण गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मीमाथि नै तस्करीको सेटिङ गरेको आरोप लाग्नु सामान्य विषय होइन । त्यसैले बाराका यी दुई नाकाबाट भइरहेको भनिएको अवैध कारोबारको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नु आवश्यक छ ।

सम्बन्धित समाचार