कविता
राष्ट्र र राष्ट्रिता
नेत्रराज शाही - मौसम
पूर्वमा सूर्य उदाउँदा परिश्चम तान्नु पर्छ
पश्चिमा सुर्य उदाउँदा पूर्व सेलाउनु पर्छ
मेची चिमोट्दा महाँकाली दुख्नुपर्छ
महाकाली काटिँदा मेची रक्तम्मे हुनुपर्छ
दक्षिणको जग भत्कीदा उत्तर ढल्नुपर्छ
हिमाल कुल्चिदा तराई च्यापिनु पर्छ
रोल्पा रूँदा काठमाडौं रूनुपर्छ
डोल्पा हाँस्दा पोखरा हाँस्नुपर्छ
मर्चवार घोच्दा मुस्ताङ्ग चस्किनुपर्छ
राप्ती डुब्दा सगरमाथा धस्किनुपर्छ
अनि मात्र त्यो सिङ्गो राष्ट्र बन्न सक्छ
कोशीको बाढीले माछापुछेलाई भिजाउनु पर्छ
कालापानीको घाउले सिंहदरबारलाई विझउनु पर्छ
दुइटा भूगोलका दुइटा प्राणी
गैडा र कस्तुरी डाँफे र मयुर
एउटै आँगनमा नाँचेको देख्न पाइयोस
नेपाली नेपालमै बाँचेको देख्न पाइयोस
शान्ति स्वाधिनता गौरव र अस्मिताको
अमर इतिहास लेख्न पाइयोस
अछुत भनिएका पाइलाहरू
मठ, मन्दिर ढोकामा टेक्न पाइयोस्
अनि मात्रै त्यो सिङ्गो राष्ट्रियता बच्न सक्छ
यहाँ त लुम्बिनी लुछिँदा पनि
लोसार मनाइरहे छन बौद्धिष्टहरू
पशुपति भत्किँदा पनि
दशै मनाइरहेछन् हिन्दुहरू
दौरा सुरूवाल जलाउँदा पनि
उसकै राप तापिरहेछन् नेपालीहरू
गून्यू चोलो च्यातिँदा पनि
पइन्टमा तिज मनाइरहेछन् नारीहरू
कार्णाली बेचिए पनि
सुस्ता मिचिए पनि
मित्र राष्ट्रको नाम जपिरहन्छौं नेपालीहरू
गरिबले भारी जति बोके पनि
सडकमा गिट्टी जति कुटे पनि
टाउकोमा ऋण थपिरहन्छौ नेपालीहरू
अनि कसरी सिङ्गो राष्ट्र बन्न सक्छर
अनि कसरी राष्ट्रियता बन्न सक्छर