काठमाडौं, १८ फागुन । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
१९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।
यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।
नेपालले सन् २०१६ यता उमेरसमूहको क्रिकेट विश्वकप खेल्न पाएको छैन । सन् २०१८ को संस्करणमा निर्णायक खेलमा अफगानिस्तानसँग हारेपछि चुकेको नेपाललाई त्यसयता दुई संस्करण (सन् २०२० र २०२२)मा यूएईले नै माथ दिँदै आएको छ ।
सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपालले यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित भएको थियो । वेष्ट इण्डिजमा सम्पन्न गत संस्करण (सन् २०२२)को छनोट प्रतियोगिता कोरोना महामारीले प्रभावित बनेपछि पछिल्ला पाँच संस्करणको नतिजाका आधारमा भन्दै यूएईलाई नै विश्वकप खेल्न योग्य बनाइएको थियो ।
पछिल्ला दुई संस्करणको पीडा विर्सिँदै र यूएईसँग उसकै मैदानमा बदला लिँदै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट भएको छ । यसपल्टको एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत थिए । नेपालले यसअघिका चारै खेलमा सहज जित हासिल गरेको थियो ।
१९१ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२–३ को अवस्थामा पुग्यो ।
त्यसपछि चौथो विकेटका लागि यूएईका इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दीपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे । डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाउँदा रनआउट भए ।
अन्तिम तीन ओभरमा यूएईलाई जितका लागि ११ रन आवश्यक थियो । आफ्नो स्पेलको अन्तिम ओभर लिएर दीपेश कँडेल बलिङका लागि आए । सुरुवाती तीन बलमा ३ रन खर्चिँदा नेपाल हारनजिक पुगिसकेको थियो । यूएईलाई जितका लागि १५ बलमा ८ रनमात्र चाहिएको थियो ।
तर, दीपेशले लगातार बलमा विकेट लिँदै आफ्नो अभूतपूर्व बलिङ स्पेल पूरा गरे । उनको यही ह्याट्रिक विकेटले नेपाललाई ८ वर्षपछि विश्वकपमा छनोट गरायो । दीपेशले ४७.४ ओभरमा हर्षिद सेथलाई बोल्ड गरे । ४७.५ ओभरमा हरित हरिस सेट्टीलाई कप्तान देव खनालबाट क्याचआउट गराए । ओभरको अन्तिम बलमा मनिष गजेशलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए ।