काठमाडौं । नेपाली काँग्रेसका सात केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । साट केन्द्रीय सदस्य संक्रमित भएपछि काँग्रेसले असोज १९ गते बोलाएको केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेले सोमबारको बैठक असोज २५ गते बस्नेगरी स्थगित गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
केन्द्रीय समिति बैठक बस्नका लागि काँग्रेसले केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षण गर्दा पाँच जनालाई र काठमाडौं बाहिर परिक्षण गरेका दुई जनालाई पोजेटिभ देखिएको हो ।
पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण देखिएको छ । यस्तै अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गराएका केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको पौडेलले जानकारी दिए ।
कोभिड-१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।