भैरहवा, असोज १८ । प्रशासनले बुटवल क्षेत्रको निषेधाज्ञा जारी गरे पनि व्यावसायिक संघरसंस्थाले विरोध प्रदर्शन गरेका छन् भने नेपाली कांग्रेस रुपन्देहीले जिल्ला बन्दको आह्वान गरेको छ ।
व्यवसायीले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन्। प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभामा शुक्रबार प्रस्ताव पेस गरेपछि उद्योगी व्यवसायी र रुपन्देही कांग्रेस आन्दोलित भएको हो ।
बन्दका कारण जिल्लाका मुख्य सडकमा सार्वजनिक यातायात चलेका छैनन्। निजी सवारी र भित्री सडकमा छिटफुट सवारी भने चलेका छन्। आज कांग्रेससहितका व्यावसायिक संघरसंस्थाले प्रदर्शन गरेका हुन् ।
बुटवलमा भएको विरोध प्रदर्शनमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कुनै पनि हालतमा प्रदेश राजधानी सार्न नदिने बताए । प्रस्ताव फिर्ता नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने उनले जनाए। प्रदर्शनकारीले ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’लगायतका नारा लगाएका थिए ।
बुटवलमा ¥याली र प्रदर्शन सुरु भएसँगै बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले बुटवलका ठाउँ–ठाउँमा टायर बालेर राजधानी सार्ने निर्णयको विरोध गरेका छन् ।
राजधानी सार्ने निर्णयविरुद्ध प्रदर्शन सुरु भएपछि रुपन्देहीको सुरक्षा अवस्था कडा पारिएको छ । सैनामैना, देवदह लगायतका क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही क्षेत्रमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ ।
निषेधित क्षेत्रमा ¥याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।