विश्व नम्बर एक नोभाक जोकोभिचले प्रभावशाली प्रदर्शन गर्दै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएका छन् ।
जोकोभिचले डेनमार्कका इलाही गालनलाई ३-० को सोझो सेटमा हराएका हुन् ।
सर्वियाका ३३ वर्षे जोकोभिच १८औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा छन् । उनले कोलम्बियाका गालनलाई ६–०, ६–३, ६–२ को सेटमा हराएका थिए । जोकोभिच पछिल्लो १६ मध्ये लगातार ११ संस्करणको अन्तिम १६ मा स्थान बनाउन सफल भए ।
जोकोभिचले अब क्वार्टरफाइनल प्रवेशका लागि रुसका करिन खाचानोभसँग प्रतिस्पर्धा गर्नेछन् । खाचानोभले चिलीका क्रिष्टियन गरिनलाई ६–२, ३–६, ६–४, ६–२ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
फ्रेन्च ओपनको सातौं दिन ड्यानियल अल्टमायरले आश्चर्यजनक नतिजा निकाले । जर्मनीका अल्टमायरले सातौं वरीयताका माट्टेयो बोर्रेट्टिनीलाई हराउँदै चौथो चरणमा स्थान बनाएका हुन् ।
१८७ औं वरीयतामा रहेका अल्टमायरले ६–२, ७–६(७/५), ६–४ को सेटमा विजय हासिल गरेका हुन् ।
अल्टमायरले अब १७औं वरीयताका पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन् । बुस्टाले दशौं वरियाताका राबर्टो बाउटिस्टा अगुटलाई ६–४, ६–३, ५–७, ६–४ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
ग्रिसका पाँचौं वरीयताप्राप्त स्टेफानो सिटसिपासले पनि अन्तिम १६ मा स्थान बनाए । २२ वर्षे सिटसिपासले स्लोभेनियाका अल्जाज बेडेनेलाई पहिलो दुई सेटमा ६–१, ६–२ को नतिजा निकालेका थिए ।
तेस्रो सेटमा बेडेनेको घुँडामा चोट लागेपछि सिटसिपासले अघिल्लो चरणमा स्थान बनाए। तेस्रो ३–१ को स्थितिमा हुँदा सिटसिपासको घुँडामा चोट लागेको हो ।
सिटसिपासले अब ग्रिगोर दिमित्रोभसँग प्रतिस्पर्धा गर्नेछन् । रोबेर्टो कार्बालेस बाइना रिटायर हर्ट भएपछि दिभित्रोभले अघिल्लो चरणमा स्थान बनाएका हुन् । दिमित्रोभले पहिलो दुई सेट ६–१, ६–३ को स्कोरमा जितेका थिए ।
रुसका आन्द्रे रुबलेभ दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ६–३, ६–२, ६–३ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाए । २२ वर्षे रुबलेभले अब क्वार्टरफाइनल प्रवेशका लागि माटोन फुकसोभिक्ससँग प्रतिस्पर्धा गर्नेछन् ।
फुकसोभिक्सले ब्राजिलका थिएगो मोन्टेरोलाई ७–५, ६–१, ६–३ को सेटमा हराएका थिए ।