काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा देउवा समूहका नेतामात्रै सहभागी थिए ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारी बैठकले आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘१९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा कहिले र कसरी आन्दोलन गर्ने भन्ने तय हुन्छ,’ उनले भने । उनका अनुसार संसदको बैठक माग गर्ने विषयमा केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकमा छलफल गरिने छ । संसदीय दलको बैठक कहिले गर्ने भन्ने विषय भने अहिले नै टुंगो लागिसकेको छैन ।
आजको पदाधिकारी बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा पनि छलफल गरेको छ । ‘वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले बुझाएको विरोधपत्रका बारेमा पनि छलफल भएको छ,’ महतले भने, ‘यस विषयमा आन्तरिक नेताहरुको छलफल त भइनै रहेको छ । तर, केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफल हुन्छ ।’
केही दिनअघि पौडलेसहितका २७ जना केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता गराएका थिए । विरोधपत्रमा पार्टी सभापतिले विधान र विधि भन्दा बाहिर गएर विभाग गठन र विस्तार गरेको, सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त हुँदा पनि प्रतिपक्षीले भूमिका नखेलेको उल्लेख गरिएको थियो ।