भारतमा सात लाखमा कोरोना संक्रमण

17.1k Shares

नयाँ दिल्ली : भारतमा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या करिब सात लाख पुगेको छ ।संक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

४२५ संक्रमितको मृत्यु भएको मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ । सोमबार विहानसम्म ४ लाख २४ हजार ४३२ सङ्क्रमित निको भई घर फर्किएका छन् ।

भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य छ । यहाँ २ लाख ६ हजार ६१९ संक्रमित छन् भने ८ हजार ८२२ जनाको मृत्यु भएको छ ।

दोस्रो स्थानमा तमिलनाडु रहेको छ । यहाँ १ लाख ११ हजार १५१ जना संक्रमित रहेका छन् भने १ हजार ५१० जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । यहाँ ९९ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ६७ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यवसायिक अन्तर्राष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ ।–एएनआइ

सम्बन्धित समाचार