गृहमन्त्री रवि लामिछानेलाई तस्कर र क्यासिनो संचालकको पनि बधाइ !

16.4k Shares

काठमाडौं । रवि लामिछाने संचारकर्मीका रुपमा भन्सार छली तस्करीका बिरुद्ध भन्सार कार्यालयका प्रमुखदेखि प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रमुखसम्मलाई र्याखर्याख्ती पार्दै प्रश्न गर्थे । भ्रष्टाचार र अनियमितताका बिरुद्ध टेलिभिजनबाट जेहाद छेड्ने काम उनले गर्दैआए । क्यासिनोमा नेपालीलाई जुवा खेलाउने कार्यको बिरोध गरे । राजस्व नतिर्ने क्यासिनोहरुलाई ऐन, नियम अनुसार संचालन गर्नुपर्ने पक्षमा लबिङ गरिरहे ।

टेलिभिजन पत्रकारिताबाट राजनीतिमा हाम्फालेका लामिछानेले ६ महिनामै प्रतिनिधिसभामा २० सिट जितेर सरकार गठनमा निर्णायक पोजिसनमा पुगेका छन् । उनी आज उपप्रमसहित भन्सारछली चोरी तस्करी नियन्त्रण गर्ने सीडीओ र प्रहरी खटाउने गृहमन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । विगतमा तस्करी र भ्रष्टाचार कसरी हुन्छ भनेर जराजरा केलाउने उनले अब त्यो रोक्ने ठाउँमा पुगेका छन् । अब बिगतमा अरुलाई आरोप लगाएर मात्र होइन, कार्यान्वयन गर्नुपर्ने चुनौती उनीसामु छ । तर, उनी गृहमन्त्री भएपछि तस्कर र विवादितहरुले सँगै खिचेका तस्वीर राख्दै अभिन्न मित्र, हितैषी भन्दै बधाइ दिएको देखिन्छ । विवादित पात्रहरुले उनीसँग खिचेका तस्वीर राखी सामाजिक संजालमा राखेर सीडीओ, प्रहरीलाई समेत गुमराहमा राखी तस्करी गर्ने, नियम कानुन मिच्न प्रोत्साहित त हुने होइनन् ?

रवि लामिछाने गृहमन्त्री भएपछि स्वदेशदेखि बिदेशसम्मका धेरै तह र तप्काले सामाजिक संजालमा बधाइ दिएका छन् । पुराना पार्टीहरुसँग रुष्ट भएका नागरिकले उनीसँग सुधारको अपेक्षा पनि राखेका छन् ।

रवि लामिछानेलाई सामाजिक संजालमा बधाइ दिंदैसँगै खिचेको फोटो पोष्ट्याउनेहरुमध्ये बीरगंजका नामुद कपडा तस्कर मुन्ना मोहम्मद पनि एक हुन् । बीरगंजको मुख्य भन्सार कार्यालय इनर्वाबाट सबैभन्दा बढी कपडा तस्करी गर्नेमा मुन्नाको नाम आउँछ । छपकैया घर भएका उनी हाल बीरगजको मुड्लीमा बस्दैआएका छन् । परवानीपुरमा देखाउनका लागि कपडा पसल राखेका उनी बीरगंजका कपडा तस्करीमा अग्रपंक्तिमा पर्दछन् । 

त्यसैगरी, नेपाल प्रहरीका पूर्वडीआइजी छवि जोशी बन्जाडेले पनि फेसबुकमा आफूसँगै खिचेको तस्वीर राखेर गृहमन्त्री लामिछानेलाई बधाइ दिएका छन् । नेपाल प्रहरीमा हुँदा धनुषामा अति विवादित र अन्यत्र हुँदा पनि अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरी सिमरादेखि भैरहवासम्म क्म्यासिनो संचालन गर्दै आएका जोशीले उनलाई बधाइ दिएका छन् । जोशीले इच्छा होटल सिमरामा स्माइल कलेक्सन प्रालिको नामबाट क्यासिनो संचालन गरेका छन् । भैरहवामा पनि उनको क्यासिनो छ । 

धनुषामा हुँदा उनले त्यतिबेला च्याउसरी खुलेका सशस्त्र समूहलाई संरक्षण गरी लाभ लिएको आरोप छ । सशस्त्र समूहले पहाडीया मूलका नागरिकको घर सिंत्तैमा हडप्नेदेखि चन्दा माग्ने जस्ता काम गर्दा उनले उनीहरुको बारेमा थाहा भए पनि संरक्षण गरेको आरोप लागेको थियो । प्रहरीकै संरक्षणमा धनुषामा सशस्त्र समूहले हत्या, असुली जस्ता क्रियाकलाप गरेको रहस्य पछि सर्वेन्द्र खनाल एसपी भएपछि खुलेको थियो ।

धनुषाका तत्कालीन एसपी बन्जाडे र डीएसपी रुपकुमार न्यौपानेको संरक्षणमा हत्या र चन्दा असुली हुने गरेको पाइएपछि खनालको सिफारिसमा पछि न्यौपाने एक तह घटुवा भएका थिए । बन्जाडेलाई भने नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले कारबाहीबाट जोगाएका थिए । २०७३ मा निधि गृहमन्त्री भएपछि बन्जाडेलाई  तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालको असहमतिका बाबजुद काठमाडौंको एसएसपीमा सरुवा गरिएको थियो । सुरुमा अडान लिएका अर्याल पछि जोशीलाई काठमाडांै परिसरमा सरुवा गर्न बाध्य भएका थिए । काठमाडांंैको एसपी हुँदा पनि जोशीले हरेक केसमा डिल गरी अथाह सम्पत्ति आर्जन गरेका थिए ।


सम्बन्धित समाचार