ललितपुर । कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा भैंसेपाटीस्थित मेडिसिटी अस्पतालको गलत रिपोर्टले गोदावरी नगरपालिका वडा नं। १० र ११ का स्थानीय पाँचदिन यता त्रासमा बाँच्न बाध्य भए ।
वडा नं। ११ चापागाउँका ६६ वर्षीय एक पुरुष पेटको अप्रेशनका लागि मेडिसिटी अस्पताल भर्ना भई कोरोनाको पीसीआर परिक्षण गर्दा ती पुरुषको पोजेटिभ रिपोर्ट आएपछि अप्रेशन स्थगित गरिएको थियो । उनको परिवारलगायत उनीसँग सम्पर्कमा बसेकाहरुमा सन्त्रास नै फैलिएको थियो ।
ती पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएपछि गोदावरी नगरपालिकाले सो क्षेत्र सिल गरी उनीसँग सम्पर्क भएका छिमेकी आफन्त र परिवारको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पीसीआर परिक्षण गराएको थियो । त्यो परिक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि स्थानीयमा त्रास कम भएको गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले बताएकी छिन् ।
६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी उनीहरुको कन्ट्याक्ट ट्रेसिङ नभएसम्मका लागि चापागाउँ क्षेत्रको झ्यालीपाटीसम्म सिल गरिएको थियो ।