पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना–उपराष्ट्रपति पुन

19.7k Shares

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताउनुभएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित साताँै पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताउनुभयो ।

नेपाल प्राकृतिकरुपमा सम्पन्न भएको बताउँदै उहाँले यस्ता सम्पन्नतालाई पर्यटकीयरुपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभयो । प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति भाषाभाषीका विविधता हाम्रो सम्पत्ति भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तिनको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वका आठ हजारभन्दा बढी उचाइका १४ वटा हिमचुचुरामध्ये सगरमाथासहित आठ वटा नेपालमै पर्छन । उहाँले पर्वतीय पर्यटनका माध्यमबाट यहाँको पर्यटनमा विशिष्ट योगदान हुनसक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रकृति र संस्कृतिका विविधता रहेको नेपाल हिमाल पहाड र तराई गरी भौगोलिक संरचनामा विभक्त भएको बताउनुभयो ।

जैविक विविधता पनि यहाँको अर्को महत्वपूर्ण पक्ष भएको बताउँदै उहाँले यसको संरक्षण र उपयोगमा जोड दिनुभयो । पदयात्रासँगै साहसिक पर्यटकका विभिन्न गतिविधिका माध्यमबाट पर्यटकीय विकास सम्भव भएको बताउँदै मन्त्री श्रेष्ठले साधनस्रोतलाई उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा कँडेलले पछिल्ला समयमा जलवायु परिवर्तनको असर हिमाली एवं पर्वतीय क्षेत्रमा पर्न थालेको बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निवानार्बु शेर्पाले पर्वतीय पर्यटनको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

कार्यक्रममा पर्वतारोहणका क्षेत्रमा विशिष्ठ योगदान गर्ने विभिन्न व्यक्तित्वलाई उपराष्ट्रपति पुनले कदरपत्र, मेडल र दोसल्लासहित सम्मान गर्नुभएको थियो । 

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालयले पर्यटनको दिगो विकासका लागि ७३ बुँदे कार्ययोजना अघि सारेको जानकारी दिनुभयो ।

विश्वपर्यटन दिवसका अवसरमा आयोजित महोत्सव मङ्सिर २४ र २५ गते दुई दिनसम्म सञ्चालन हुने र पर्वतीय महत्वमा विभिन्न ३० वटा कक्ष रहेको नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष एवं अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले जानकारी दिनुभयो ।  

सम्बन्धित समाचार