काठमाडौं– ‘जसको तरबार उसको दरबार’ सामाजिक सञ्जालमा ट्रेण्ड बनेको शब्दावली हो यो । छायांकनको क्रममा रहेको नेपाली फिल्म ‘२.० छड्के’ को क्लाइमेक्समा प्रयोग गरिएको यो डाइलगमा धेरै टिकटक प्रयोगकर्ताले भिडियो बनाएका छन् ।
अचम्म लाग्ला, फिल्म त फ्लोरमा छ, डाइलग कसरी बाहिर आयो ? जवाफ सजिलो छ– सामाजिक सञ्जालमार्फत । हो, सामाजिक सञ्जालको मारमा छड्केको सिक्वेल पनि परेको हो ।
सुनिल थापा र अनमोल केसीको डाइलग रहेको उक्त भिडियोमा अनमोल मात्रै देखिन्छन् । जहाँ अनमोलका बुवा–आमालाई यार्सा टिपेर फर्किँदा थापाले मारेको घटना खुलाइएको छ । यही क्रममा अनमोलले ‘जसको तरबार उसको दरबार’ भनेका छन् ।
टिकटक ट्रेन्ड नेपाल नामक युट्युबमा अपलोड भएको भिडियोमा अनमोलको लुक्स र गेटअप पनि सम्बादसंगै खुलेको छ । केही समयअघि ‘नाई नभन्नु ल-६’ को क्लिप्स पनि टिकटकमा भाइरल भएको थियो ।