काठमाडौं । गठबन्धनको मुख्य घटकको रुपमा रहेको नेकपा माओवादी केन्द्र काठमाडौं उपत्यकामा क्लीनस्वीप भएको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट नराम्ररी पछारिएको छ । सत्ता गठबन्धनबाट माओवादीका काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा ८ जनाले उम्मेदवारी दिएका थिए ।
माओवादी केन्द्रका प्रतिनिधि सभाका ६ जना र प्रदेश सभाका ८ जना उम्मेदवार लज्जस्पद पराजितको सामना गर्न पुगेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर २ बाट माओवादी स्थायी समिति सदस्य ओन्सरी घर्तीले उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनको समेत सहयोगमा उम्मेदवारी दिएकी घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँगको प्रतिस्पर्धामा फराकिलो मत अन्तरले पराजित भइन् । गौतमले १५ हजार २२९ मत ल्याएर विजयी हुँदा घर्ती ९ हजार ४४९ मत ल्याएर चौथो बनिन् ।
यस्तै काठमाडौं ७ बाट नेपाल समाजवादीकी मानुषी यमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन् । माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर मानुषी सत्ता गठबन्धनको समेत सहयोगमा चुनावी मैदानमा उत्रिएकी थिइन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी हुँदा मानुषीले ६ हजार ६३ मत ल्याएर तेस्रो भइन् । यस्तै काठमाडौं ९ मा पोलिटब्युरो सदस्य कल्पना धमलाले उम्मेदवारी दिएकी थिइन् । सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दिएकी धमला एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भइन् । श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा धमला ६ हजार ४०२ मत ल्याएर तेस्रो भई पराजित भइन् । यस्तै काठमाडौं १० मा गठबन्धन नभएपछि माओवादीले एकल रुपमा अन्जना विसंखेले उम्मेदवारी दिएकी थिइन । नेपाली कांग्रेसका राजेन्द्र केसीले १४ हजार ४४८ मत ल्याएर विजयी हुँदा विसंखेले ४ हजार २६० मत ल्याएर पाँचौँ स्थानमा चित्त बुझाइन् ।
भक्तपुर १ मा सत्ता गठबन्धनबाट माओवादीका सुनील गोठेले उम्मेदवारी दिएका थिए । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले फराकिलो मत अन्तरले पराजित गरे । सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदा माओवादीका सुनीलले ५ हजार १६५ मत ल्याएर चौथो बने ।
यस्तै पार्टी संघीय सरकारकी उर्जा मन्त्री एवम् पार्टी उपमहासचिवमा पम्फा भुसालले ललितपुर ३ मा उम्मेदवारी दिएकी थिइन् । भुसाल पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भइन् । कार्की ३१ हजार १३६ मत ल्याएर विजयी हुँदा भुसालले ८ हजार ७६९ मत ल्याएर तेस्रो भइन् । जब की भुषालले पार्टीकै सक्रिय कार्यकर्ता नौ हजार रहेको दावी गर्दै आइरहेकी थिइन् ।
त्यसैगरी, प्रदेश सभा सदस्यका लागि काठमाडौं उपत्यकामा माओवादी केन्द्रले ८ जना उम्मेदवार खडा गरे पनि उनीहरु नराम्ररी पराजित भएका छन् ।