काठमाडौं । राजाको शासनकालमा राष्ट्रिय योजना आयोगमा थिए डा. युवराज खतिवडा । उनी पछि नेपाल राष्ट्र बैंकमा पनि अवसर पाउन सके । राजाको शासनकालमा राम्रो अवसर पाएका खतिवडा गणतन्त्रमा पनि हावी भएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका अति विश्वासपात्र भएका छन् । खतिवडा गैर राजनीतिक व्यक्ति भएकाले अर्थमन्त्री हुँदा नेकपाको भविष्यलाई नै संकटमा पार्ने आर्थिक नीति अबलम्बन गरेको विषय उठ्यो । नेकपामा राम्रो भविष्य बोकेका नेताहरुले त्यसकारण पनि खतिवडाको विरोध गरे । तर, उनले ओलीलाई रिझाइरहे ।
नेपाली जनतालाई रिझाउनुनपर्ने गरी खतिवडा पदमा पुगेका थिए । उनले जीवनमा कहिलेपनि मनिटरको चुनाव पनि लडेका थिएनन् । जहिले पनि मनोनिनत र राजनीतिक नियुक्ति पाएका थिए । यसमा उनको बाह्य जगतमा सम्बन्धले भुमिका खेलेको थियो । विशेष गरी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग उनको राम्रो सम्बन्ध थियो । अर्थमन्त्री हुँदा उनले त्यस्तै विश्व संस्थाको हितमा काम गरे । ओलीको बाह्य सम्बन्ध बलियो बनाउन पनि खतिवडाले भुमिका खेले । यसकारण पनि उनलाई ओलीले विश्वास गरेर विशेष जिम्मेवारी दिए ।
नेकपाका दिग्गज अर्थविदहरुलाई छक्क पार्दै अर्थमन्त्री बनेका खतिवडा साँढे दुई वर्षपछि पदबाट राजीनामा दिन वाध्य भए । तर, उनी डिफ्याक्टो अर्थ ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्ना विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । मन्त्रीकै सेवा सुविधा र स्तरमा रहनेगरी खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । योसँगै ओलीले अर्थ मन्त्रालय खतिवडाबाट नै चलाउने रणनीति लिएको अझ प्रष्ट भएको छ ।
नेकपाभित्र अर्थ मन्त्री बन्न धेरैजनाको दोडधुप छ । उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका नेताहरु दौडमा छन् । तर, खतिवडाको सल्लाहकार नियुक्तिले उनीहरु सबै झस्किएका छन् । खतिवडालाई निकै विश्वास गरेको र उनैमार्फत् ओलीले आफ्नो आर्थिक एजेन्डा लागु गर्दै आएका थिए । यसलाई निरन्तरता दिने रणनीति अपनाए । अब अर्थमन्त्री ओलीले आफैसँग राख्ने वा कसैलाई राज्यमन्त्री नियुक्त गरेर खतिवडामार्फत् चलाउन सक्ने सम्भावना बढेको छ । राज्यमन्त्रीका लागि केही नामहरु चर्चामा नभएका होइनन् । ती ओलीका मात्र नभई खतिवडासँग पनि निकट भएका हुनसक्छन् । खतिवडा विशेष आर्थिक सल्लाहकार नियुक्त भएसँगै बामदेवको अर्थमन्त्री बन्ने सम्भावना पनि लगभग टरेको छ । अब उनको ध्यान अन्य मन्त्रालयमा जान थालेको छ ।