ड्रोनको प्रयोगमा थप कडाइ गर्दै सरकार

20k Shares

काठमाडौं । सरकारले ड्रोनको प्रयोगमा थप कडाइ गर्ने संकेत गरेको छ । दुई केजीभन्दा माथि तौल भएका ड्रोन प्रयोग गर्नु परे अब गृह मन्त्रालयसँग अनुमति लिनु पर्ने भएको छ ।
मन्त्रालयले अनुमति नलिइ ड्रोनको प्रयोग गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
विभिन्न व्यक्ति/निकायले अनुमति नलिई अनाधिकृतरुपमा मानवरहीत हवाई उपकरण (ड्रोन) उडाएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
“अति आवश्यक प्रयोजनका लागि त्यस्ता उपकरण प्रयोग गर्नु परेमा २ के.जी. तौलसम्मका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सो भन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिने व्यवस्था उडान सम्बन्धी कार्यविधि, २०७५ ले गरेको हुँदा सोही बमोजिम अनुमति लिनु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” गृह मन्त्रालयले केही समय अगाडि जारी गरेको सूचनामा भनेको छ, “उल्लिखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानुन बमोजिम कारबाही हुनेछ ।”
गृह मन्त्रालयले ड्रोन उडानबाट सुरक्षा चुनौती थपिएको बताउँदै आएको छ ।
पछिल्लो समय सिनेमाको छायांकन, सञ्चारमाध्यम, फोटोग्राफी तथा व्यक्तिगतरूपमा पनि ड्रोनको प्रयोग बढेको छ । विना अनुमति ड्रोनको प्रयोगले राज्यले गोप्य भनेर फोटो खिच्न प्रतिवन्ध लगाएका स्थानका समेत तस्बिर लिने गरेको भन्दै सरकारले यसको प्रयोगमा थप निगरानी र कडाइ गर्ने बताउँदै आएको छ । तस्बिर खिच्न प्रतिबन्ध लगाइएका पुरातात्विक सम्पदाको तस्बिरसमेत ड्रोनबाट खिच्ने गरिएको गुनासो बढ्न थालेको छ ।

सम्बन्धित समाचार