बर्दियामा तस्करीको लाइन, नीति बिपरित सशस्त्रका घुमुवा परिचालन

21.5k Shares

गुलरिया । बर्दियामा नाकाबाट तस्करी सुचारू हुन थालेको छ । नेपालीहरूका मुख्य चाडपर्व नजिकिदै गरेको अवस्थामा नेपाल तथा भारत दुबै तर्फबाट तस्करी चल्न थालेको हो  ।  भारतबाट अहिले लत्ताकपडा , चिनी , किरानाका अन्य सामानका अलवा हार्डवेयर र भारतीय कुखुराको आयात हुने गरेको छ ।  नेपालबाट भने मुख्यरूपमा मदिरा  र केराउकाे तस्करी व्यापक मात्रामा हुने गरेको छ।  केराउकाे तस्करीको लाइन सशस्त्र प्रहरीले दिएको यहाँका व्यवसायीहरू बताउँछन् ।  सशस्त्र प्रहरी बलकाे बर्दिया स्थित गणका गणपति एसपी जहरसिंह बुढामगरले  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अघि सारेको नीति विपरीत घुमुवा परिचालन गरेर तस्करीको लाइन पाएका तस्करहरूबाट रकम लिई रहेको कुरा बाहिर आएको छ। राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक हुने बित्तिकै बिशेष व्युराेका बाहेक अन्य काेही पनि सिभिल वा घुमुवाकाे रूपमा परिचालन नहुने र कुनै पनि कार्यालय प्रमुखले घुमुवा परिचालन गरे कारबाही हुने लिखित परिपत्र गरेका थिए  ।  तर संगठन प्रमुखले अघि सारेको नीति विपरीत एसपी बुढामगरले दुई जना घुमुवा परिचालन गरेका छन् । तिनै घुमुवाले तस्करबाट आफू र एसपीकाे नाममा रकम असुली गरिरहेका छन् । यो कुराकाे जानकारी पाँच नम्बर बाहिनी देखि सशस्त्र प्रहरी मुख्यालय सम्म पुगेको भएपनि अझै तस्करी नियन्त्रण  र घुमुवा हटाउने काम भएको छैन ।


बर्दियामा सशस्त्रका एसपी बुढामगरले पहिले दुर्गेश नामका घुमुवा परिचालन गरेका थिए । उनी धेरै बदनाम  र बिबादमा परेपछि पाँच नम्बर बाहिनीले उनलाई बाहिनीमा तान्याे । त्यसपछि एसपी जहरसिंहले  दुई जना घुमुवा परिचालन गरेका छन् ।  गणबाट भुपेन्द्र खड्कालाई परिचालन गरेका छन् भने कालाबजार स्थित सशस्त्रको बेशमा कार्यरत रहेको देखाएर सुमन चाैधरीलाई पनि एसपी बुढामगरले घुमुवाकाे रूपमा परिचालन गरेको उजुरी सशस्त्र मुख्यालय सम्म पुगेको छ । अहिले सशस्त्रको सेटिङमा नेपालबाट केराउकाे तस्करीको लइन पाउनेमा इट्टाभट्टाकाे नामले चिनिने लल्लु , , बिशाल जैसवाल , चुन्ना ,बाबुलाल , हस्नु , लक्ष्मीनारायण  मुख्य रहेका छन् । तस्करी र घुमुवा परिचालन गरिएको बिषयमा  एसपी जहरसिंह बुढामगरसंग बुझ्नका लागि बुधबार र बिहीबार बारम्बार  सम्पर्क गर्दा उनी बाहिर मात्रै भएको जानकारी दिइएयाे ।

सम्बन्धित समाचार