काठमाडौं, ३ भदौ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध हटेको छ । सत्तारुढ दलका स्थानीय नेता नेतृत्वको आन्दोलनको अवरोध हट्दा फोहोर विसर्जनमा सहज भएको छ ।
स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहानै १६२ ट्रक फोहोर बञ्चरेडाँडामा विसर्जन भएको छ । “आज स्थानीयको अवरोध छैन । बिहानैदेखि फोहोरका ट्रक अनलोड भइरहेका छन्,” उनले भने ।
महानगरपालिका नगरप्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार काठमाडौं उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्नेछ । “पुनः स्थानीयले अवरोध नगरे एकसाता भित्रै सबै फोहोर उठिसक्छ । काठमाडौं उपत्यकाका सडक, नदी, खोला किनारामा थुप्रिएको फोहोर सकिएपछि घरभित्रको फोहोर उठाइनेछ,” उनले भने ।
सत्तारूढ तीन राजनीतिक दलका स्थानीय नेताको नेतृत्वमा उपत्यकाको फोहोर सधैँका लागि बन्द गर्ने घोषणासँगै आन्दोलन चर्किएको थियो । अवरोधकैबीच बिहीबार २८४ टिपर फोहोर विसर्जन गरिएको थियो ।
बुधबार काठमाडौं, धादिङ र नुवाकोट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बाटोमा लिचेड चुहाउन नपाइने, जथाभावी फोहोर फाल्न नपाइने, दैनिक फोहोरलाई औषधि प्रयोग गरेर दुर्गन्धमुक्त बनाउने र पुराना मागहरू कार्यान्वयनमा ल्याउन चारबुँदे सहमति भएको थियो ।
तर, स्थानीय सत्तारुढ दल नेतृत्वको अवरोध हटेको थिएन । गएराति सत्तारुढ स्थानीय नेताहरूको सर्वदलीय बैठक बसेको थियो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पाण्डेका अनुसार स्थानीय प्रहरीको सुरक्षामा फोहोर अनलोड भइरहेको छ । ल्याण्डफिल साइटमा दुई समूहले भदौ १ गतेदेखि फोहोर फाल्न नदिन छुट्टा–छुट्टै आन्दोलनको घोषणा गरेका थिए ।
स्थानीय संघर्ष समिति श्रीराम ढुंगाना नेतृत्वको आन्दोलन सहरी विकास मन्त्रालयको निर्णयपछि फिर्ता भएको थियो । बुधबारदेखि यातायात व्यवसायी र टिपर व्यवसायीले सहयोग स्वरुप ३० वटा टिपरमा फोहोर उठाउन थालेका छन् ।
चालकलाई दैनिक एक हजारका दरले पारिश्रमिक दिने र टिपरमा पेट्रोल हालिदिने सर्तमा महानगरले थप १८ वटा टिपरबाट फोहोर ढुवानी गर्न थालेको छ । आजदेखि अरु टिपरमा पनि फोहोर उठाइने महानगरले जनाएको छ ।